धनगढी, मंसिर १६ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा आजै मतगणना गर्ने तयारी गरिएको छ ।
गाउँपालिकाको रिक्त उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनको मतदान जारी रहेका बेला निर्वाचन अधिकृतको कार्यालयले आज नै मतगणना थाल्ने तयारी गरिएको जनाएको छ ।
बाजुराका प्रमुख निर्वाचन अधिकृत अंगतबहादुर महतले मतदान सम्पन्न भएपछि तत्कालै गाउँपालिका कार्यालयको हलमा मतपेटिका संकलन गरेर राखिने बताए । सबै मतदान केन्द्रबाट मतपेटिका आइसकेपछि तत्कालै मतगणना गरिने उनले बताए ।
स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षका लागि नेपाली कांग्रेसकी पुल्तीसरा शाही, एमालेकी सुलोचना भण्डारी बुढा र नेकपा एकीकृत समाजवादीकी जवा शाही चुनावी प्रतिस्पर्धामा छन् ।
२०७९ सालको स्थानीय तह निर्वाचनबाट उपाध्यक्षमा निर्वाचित भएकी नेपाली कांग्रेसकी मैनादेवी जोशीको निधन भएपछि स्वामीकार्तिकमा आइतबार उपनिर्वाचन भएको हो ।
कुल सात हजार ४६० मतदाता रहेको यो पालिकामा साँझ ४ बजेसम्म तस्न हजार ८७९ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । त्यसअघि नै मतदान स्थलमा प्रवेश गरेका मतदातालाई भने मत हाल्ने दिइनेछ ।