बाजुराको अधिकांश जमिन बर्सेनि बाँझो रहँदै

१असोज,धनगढीः सिँचाइको अभावले बाजुराको अधिकांश जमिन बर्सेनि बाँझो रहँदै आएको छ । बुढीगङ्गा नगरपालिका–१० का स्थानीय विनोदबहादुर सार्कीले खेतीयोग्य प्रशस्त जमिन भए पनि सिँचाइ सुविधा नहुँदा हिउँदमा बाँझो राख्नु परेको बताउनुभयो ।

उहाँले भन्नभुयो, “गाउँमा सिँचाइको अभावले जमिन सधैँ बाँझो राख्नु परेको छ तर अर्कोतिर स्थानीय सरकारले तिरो तिर्न भन्छ । अन्य आयस्रोत छैन । विकल्प केही नभएपछि अहिले भारतबाट कमाइ गरेर जमिनको तिरो तिर्ने गरेको छु । २०७८ सालमा यहाँका स्थानीयको पुस्तौँदेखिको खानेपानीको समस्या बल्ल समाधान भएको छ । अब कतैबाट सिँचाइको व्यवस्था हुन पाए बाँझो जमिन पनि सदुपयोग हुने अपेक्षा उहाँले राख्नुभयो । वडा नम्बर १० को पानीभुवा, डाँडा, बाँउकुणा, माथिखेत, कबल्तोला, भतुडा, पाखेढुङ्गा र खिरेरुखलगायतका अधिकांश जमिनमा सिँचाइ सुविधा छैन ।

यहाँको करिब सोह्र हजार ७६५ हेक्टर जमिनमा सिँचाइ नहुँदा जमिन बाँझो रहँदै आएको छ । बाजुराको नौवटै स्थानीय तहमा दुई लाख ३० हजार ३७ हेक्टर जमिन छ । त्योमध्ये २२ हजार हेक्टर जमिन खेतीयोेग्य भए पनि पाँच हजार २३५ हेक्टर जमिनमा मात्र वर्षभर सिँचाइ हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताउनुभयो ।

उक्त जमिन खेतीयोग्यका लागि निकै उपयोगी भए पनि सिँचाइ नहुँदा यहाँका स्थानीयले हिउँदमा सधँै बाँझो राख्ने गरेका छन् । गाउँको खेतीयोग्य जमिनका लागि सिँचाइको सुविधा भइदिएको भए म जस्तै युवाले कामको खोजीका लागि भारत जानुपर्ने थिएन, सार्कीले भन्नुभयो । गाउँमा जमिन प्रशस्त भए पनि सिँचाइको व्यवस्था नहुँदा खेती गर्न छोडेर यहाँका अधिकांश युवा भारत पलायन हुने गरेका छन् । यता स्थानीय सरकारले गाउँमा जमिन बाँझो राख्न नदिन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया