बाजुराका विभिन्न ठाउँमा अभिभावककै कारण बालविवाह न्यूनीकरणमा समस्या

समचार

३०भदौ,धनगढीः बाजुराका विभिन्न ठाउँमा अभिभावककै कारण बालविवाह न्यूनीकरणमा समस्या हुन थालेको छ। अभिभावकले बालविवाह रोक्न लाग्नुपर्नेमा उल्टै उनीहरूलाई संरक्षण दिन थालेपछि बालविवाह न्यूनीकरणमा समस्या हुन थालेको हो।

बुढीगङ्गा नगरपालिका नगरस्तरीय बाल क्लबका कोषाध्यक्ष रेखा नेपालीका अनुसार आमाबुवा र छोराछोरीको मिलोमतोमा बालविवाह हुन थालेपछि न्यूनीकरणमा समस्या आएको छ। अभिभावककै मिलोमतोमा बालबालिकाले सानै उमेरमा पढाइ छोडेर विवाह गर्न थालेका छन्।

बाजुरामा पछिल्लो समय उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या निकै बढ्दै गएको छ। यसलाई रोक्न स्थानीय निकाय बाल क्लब अभिभावक, प्रहरीलगायतको संयुक्त अभियानले पुनः गाउँ गाउँमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताइन्छ। बाजुराका नौवटै स्थानीय तहमा प्रायः कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने १५ देखि १८ वर्षका किशोरकिशोरी रहेका छन्।

यसअघि पनि बालविवाह न्यूनीकरण गर्नका लागि स्थानीय तहले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका थिए। क्लबका कोषाध्यक्ष रेखाका अनुसार आर्थिक अभावले उच्चशिक्षा पढ्न बालबालिकाले नसक्ने अवस्था छ। त्यसैले पढाइ छाडेर विवाह गर्न बाध्य हुने अवस्था रहेको छ।

छोराछोरीले सानै उमेरमा बालविवाह गर्दा आमाबुवाले पनि त्यसैलाई स्वीकार गर्दै आएपछि अहिले यसलाई रोक्न सरकारी तथा गैरसरकारी संस्थालाई समेत निकै सकस भएको बताइन्छ।

बुढीगङ्गा नगरपालिका–४ का वडास्तरीय बाल क्लबका सचिव भिम्ला उखेडाले बुढीगङ्गाको बदेडा, सेलापाखा, तिमाडा, पालबाडा, सिगाडा, देउमाण्डौँलगायतका गाउँमा बालविवाह गर्ने क्रम निकै बढेको बताउनुभयो। उहाँका अनुसार बुढीगङ्गा नगरपालिका–७ को झाली, खारेखेत सिमलकोटलगायतका गाउँमा समेत बालविवाह हुने क्रम घट्नुभन्दा बढेको छ। यहाँका केटाकेटी आफ्नो पढाइ बिचैमा छाडेर विवाह गर्ने गरेका कारण यस क्षेत्रको साक्षरता दर अन्य गाउँको तुलानामा निकै कम छ।

यस क्षेत्रका अधिकांश स्थानीयको रोजीरोटी भारतमै हुने गरेकाले पनि अभिभावकले छोराछोरीको पढाइप्रति खासै चाँसो नदेखाउँदा बालविवाह बढ्दै गएको उखेडाले बताउनुभयो।

बाजुराको बडीमालिका, त्रिवेणी बुढीगङ्गा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकालगायतका स्थानीय निकायमा पछिल्लो समय बालविवाह गर्नेको सङ्ख्या फेरि बढेको छ। बुढीगङ्गा नगरपालिकाका विभिन्न गाउँमा त बालविवाह गर्ने चलन पुस्तौँदेखि अहिलेसम्म उस्तै छ। यस क्षेत्रमा सानै उमेरका केटाकेटीको मागी विवाह गरिदिन्थे। अहिलेका पुस्ताले पनि केटाकेटीले सानै उमेरमा विवाह गरे पनि त्यसैलाई स्वीकार गर्दै आएपछि त्यो ठाउँमा बालविवाह न्यूनीकरणमा समस्या भएको हो।

२०७६ सालमा बालविवाहविरुद्धको सचेतना अभियान थालिएको थियो। त्यसयता बालविवाह गरेका १२ जोडीलाई कारबाही गरिएको छ। तथापि बालविवाहको यकिन तथ्याङ्क कसैसँग छैन। बालविवाहको उजुरी कुनै निकायमा दर्ता नभएका कारणले तथ्याङ्क नभेटिने गरेको हो।

पिसविन बाजुराका सहजकर्ता मनिषा रावतका अनुसार बालविवाह रोक्न गैरसरकारी या सरकारी प्रयास मात्रले सम्भव छैन। सामाजिक सचेतना, आर्थिक, शैक्षिक, रोजगारीका अवसर जस्ता धेरै विषयले बालविवाहलाई गाँजेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *