बाघ संरक्षणका उचित उपाय अवलम्बन गर्दै निरन्तरता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

१३ साउन, काठमाडौं  :  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बाघ संरक्षणका उचित उपायहरू अवलम्बन गर्दै यसलाई निरन्तरता दिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीहरूलाई आव्हान गरेकी छन् ।

विश्व बाघ दिवस, २०२३ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन एवम् आर्थिक विकासका लागि समेत महत्वपूर्ण हुने भएकाले संरक्षणका उचित उपायहरू अवलम्बन गर्दै यसलाई निरन्तरता दिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीहरूलाई आव्हान गरेकी हुन् ।

यस अवसरमा बाघको संरक्षणका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिलोस् भनी हार्दिक शुभकामना समेत व्यक्त गरेकी छन् ।

‘सन् २०१० मा रूसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्म बाघको संख्या १२१ बाट दोब्बर बनाएर सन् २०२२ सम्म २५० पु¥याउने प्रतिवद्धता जाहेर गरेको थियो ।

जसअनुसार नेपालले लक्ष्यभन्दा बढी बाघको संख्या वृद्धि गरी हाल ३५५ पु¥याउन सफल भएको छ । यसबाट विश्वका १३ देशमा मात्र पाइने पाटे बाघ लगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले सकारात्मक पहिचान निर्माण गरेको छ ।

जुन हाम्रो लागि गौरबको विषय हो । यस अवसरमा म वन्यजन्तु संरक्षणसँग सम्बद्ध निकाय, संघ संस्था, समुदाय र संरक्षणकर्मीहरूलाई हार्दिक बधाई दिन चाहन्छु ।’ बाघको संख्या बढेसँगै मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट मानिसको मृत्यु हुने घटनामा समेत वृद्धि भएको छ । यो हामी सबैको लागि चिन्ता र चुनौतिको विषय बन्न पुगेको छ ।

तसर्थ, वन्यजन्तु र मानव बीचको द्वन्द्व न्यूनीकरण गर्नका लागि बाघ विचरण गर्ने वन क्षेत्रको विस्तार‚ बाघका लागि आहारा हुने वन्यजन्तुको संख्या वृद्धि गर्न घाँसे मैदानको विस्तार र मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायमा सचेतना अभिवृद्धिका साथै वैकल्पिक जीविकोपार्जनका उपायहरूको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षले ध्यान पुर्‍याउनु पर्दछ ।’ उनले भनेकी छन् ।

जैविक विविधताको संरक्षण एवम् स्वस्थ पारिस्थितिक प्रणालीको निर्माणमा समेत योगदान गर्ने दुर्लभ वन्यजन्तु पाटे बाघको संरक्षणमा अझ ऊर्जाशील भई लागिरहन विश्व बाघ दिवसले सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

तपाईको प्रतिक्रिया