बझाङ, मंसिर ५ । बझाङको सुर्मामा एक वर्षीया बालिको हत्या गरेको आरोपमा प्रहरीले सौतेनी बाबुलाई पक्राउ गरेको छ ।
नाबालिका हत्या आरोपमा सुर्मा गाउँपालिकाका वडा नं. १ नाउला गाउँका ३२ वर्षीय प्रेमबहादुर बोहरालाई पक्राउ गरिएको हो ।
आरोपितकी श्रीमती मन्कली साउँदले दिएको जाहेरीका आधारमा बोहरालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाका अनुसार २०८१ मंसिर २ गते साँझ मदिरा सेवन गरेका बोहराले श्रीमती मन्कली साउदसँग विवाद हुँदा बालिकाको हत्या गरेका थिए ।
बोहराले गत भदौ २२ गते मात्रै अछामको मंगलसेन नगरपालिका वडा नम्बर ३ बाट मन्कलीसँग भागी विवाह गरेका थिए । दुवै जनाको यो दोस्रो विवाह हो ।
मन्कलीले पहिलो श्रीमानबाटको छोरी पनि सँगै लिएकी थिइन् ।
अर्काकी छोरीसँगै ल्याएको भन्दै तनावमा रहेको प्रेमले यसअघि पनि मन्कलीलाई यातना दिने गरेको उनले जानकारी दिए ।