बझाङको साइपाल गाउँपालिकामा पहिलोपटक बैंक स्थापना

बझाङ, असोज ११ । बझाङको साइपाल गाउँपालिकामा पहिलोपटक बैंक स्थापना भएको छ।

संघीयता लागू भएको ७ वर्षपछि एभरेष्ट बैंकले असोज १० गते बिहीबारबाट साइपाल गाउँपालिकाको काँडामा शाखा सञ्चालन गरि सेवा सुरु गरेको हो।

साइपालमा बैंक पुगेसँगै देशभरका सबै स्थानीय तहहरूमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति भएको छ।

संघीयतापछि सबै स्थानीय तहमा बैंक पुर्‍याउने सरकारी लक्ष्यअनुसार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई पालिकामा शाखा सञ्चालन गर्न निर्देशन दिएको थियो ।

२०७४ असार मसान्तसम्म शाखा सञ्चालन गर्ने भन्ने अवधिसम्म २९७ स्थानीय तहमात्रै बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुगेका थिए।

वर्षौँको प्रयासपछि पालिकामा बैंक सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष मानवीर बोहराले बताए। शाखा सञ्चालन गर्नका लागि गाउँपालिकाले मेसिनहरू हेलिकोप्टरबाट ढुवानी गरिदिएको, पक्की भवन बनाइदिएको, सुरक्षाकर्मी खटाएको, इन्टरनेट र सोलार प्यानल जडान गरिदिएको अध्यक्ष बोहोराले बताए।

तपाईको प्रतिक्रिया