बजार व्यवस्थापन नहुँदा चुरेका किसान समस्यामा, बर्षेनी करोडौंका सुन्तला खेर जाँदै

धनगढी । बारीमा फलेका सुन्तला बिक्रि गर्न बजार व्यवस्थापन नहुँदा चुरेका किसानहरु समस्यामा परेका छन् । कैलालीको चुरे गाउँपालिका पर्ने साविकको खैराला गाविसका किसानहरु बारीमा फलेका सुन्तला उचित मूल्यमा बिक्रि गर्न नपाउँदा समस्यामा परेका हुन् । बर्षेनी करोडौं मूल्यका सुन्तला बजार अभावमा खेर गइरहेका छन् । भने कतिपय किसानहरु सुन्तला विक्रि नहुँदा व्यवसाय नै छोड्न बाध्य भएका छन् ।

महेन्द्र राजमार्गमाबाट २२ किलोमिटरको दुरीमा रहेको कैलालीको विकट पहाडी क्षेत्र खैरालामा अमिलो जातका फलफुल,अदुवा,बेमौसमी तरकारीको राम्रो उत्पादन हुने गरेको छ । त्यहाँका किसानहरुले बर्षेनी ठूलो संख्यामा सुन्तला,अदुवा,बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन् । तर उत्पादन भएका कृषी उपजहरू विक्रि नहुँदा भने किसानहरु चिन्तित भएका छन् । किसानले उत्पादन गरेका कृषि उपजहरू खेतमै कुहिने तथा सस्तो मुल्यमा विक्रि गर्नुपर्ने बाध्यता भएको छ ।

खैरालामा उत्पादन भएका सुन्तला विक्रि गर्न धनगढी,चौमाला,टिकापुर,अत्तरिया,लम्की लगायतका बजारमा पुर्याउनुपर्ने हुन्छ । खैराला देखि चौमाला जोड्ने सडकको लम्बाइ जम्मा २२ किलोमिटर मात्र भएपनि सडक कालोपत्रे नहुँदा गाडीमा सुन्तला ढुवानी गर्दा महंगो पर्न जान्छ । ढुवानी खर्च तिर्न नसक्ने अवस्था भएपछि किसानहरु करोडौं मूल्यका सुन्तला खेतमै कुहाउन बाध्य भएका छन् । उता खैरालामा किसानका खेतमै सुन्तला कुहिएको अवस्थामा धनगढी लगायतका बजारमा भने भारतीय बजारका साथै नेपालका विभिन्न ठाउँबाट ल्याइएका सुन्तला बिक्रि भइरहेका छन् ।

खैरालाकी तुलसा जोशीले बजार व्यवस्थापन नहुँदा बारीमा फलेका सुन्तला विक्री गर्न नसकिएको बताइन् । उनले यातायातको सुविधा नहुँदा बजारको समस्या भएको बताइन् । उनले भनिन् , आफैले बजार सम्म लगेर बेच्न सकिदैन ,हामीबाट व्यापारीले २५ रुपियाँ किलो सुन्तला लगेर बजारमा १५० रुपियाँ भन्दा महंगोमा विक्रि गर्छन् । सरकारले बजार व्यवस्थापन मात्र गरिदिए खैरालामा फलफुल र बेमौसमी तरकारीको राम्रो उत्पादन गर्न सकिने उनको भनाई छ ।

खैराला क्षेत्रमा सरकारले राम्रो सडक सुविधा र कृषिमा लगानी गर्न सके कृषि पर्यटकीय क्षेत्रको रुपमा विकास गरि आन्तरिक तथा बाह्य पर्यटक भित्राउने सक्ने सम्भावना रहेको छ । सरकारको व्यवास्थाका कारण बर्षेनी करोडौंको आम्दानी दिन सक्ने खैराला ओझेलमा परेको छ ।
बेताल सहकारी संस्थाका अध्यक्ष गौल्याल दिवाकोटीले खैराला क्षेत्रमा अमिलो जातका फलफुल,अदुवाको राम्रो सम्भावना रहेको बताए । उनले कच्ची सडक पनि पुगिसकेकाले सहकारीको माध्यमबाट कृषी उत्पादन बढाएर किसानलाई बजारीकरणमा सहयोग गर्ने लक्ष्य रहेको बताए । सहकारीले सुन्तलाको बजार व्यवस्थापनका लागि सुन्तला संकलन केन्द्र बनाई किसानबाट खरिद गरेर बजार सम्म पुर्याउने तयारी गरिरहेको भएपनि आर्थिक अभावका कारण नसकिएको बताए । उनले स्थानीय तहको खासै सहयोग नपाएकाले सुन्तलाको बजार व्यवस्थापनमा चुनौती भएको बताए ।सरकारले प्राथमिकतामा राखेर बजार व्यवस्थापन गर्न सके बजारको सुन्तलाको माग खैराला धान्न सक्ने उनको भनाई छ ।

 

तपाईको प्रतिक्रिया