फारवेष्ट पशुपति कपको उपाधिका लागि साविक विजेता स्टार सिटी र ईलाईट भिड्ने

धनगढी । एनआरएनए छैटौं फारवेष्ट पशुपति कप २०८० को उपाधिका लागि साविक विजेता स्टार सिटी युवा क्लब र ईलाईट युवा क्लब भिड्ने भएका छन्। फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढीमा भईरहेको प्रतियोगिताको आज भएका सेमिफाईनल खेलमा जित हात पार्दै साविक विजेता स्टार सिटी र पहिलो सहभागीता जनाएको ईलाईट उपाधिका लागि भिड्ने भएका हुन्।

धनगढी रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा स्टार सिटी युवा क्लबले बिएस १५ स्पोर्टस एकेडेमीलाई नाटकीय रुपमा ६–२ ले हराउँदै स्टार सिटी लगातार दोस्रो पटक उपाधि नजिक पुगेको हो। पहिलो हाफमा बराबरी खेलेका दुबै टोलीले खेलमा भएका सबै ८ गोल दोस्रो हाफमा भएका हुन्। स्टार सिटीको जितमा कप्तान कुवेर सिंहले ह्याट्रिक गरे। दोस्रो हाफको ११ औं मिनेटमा आफ्नो टीमका लागि खाता खोलेका कप्तान कुवेरले २१ औं निमेटमा दोस्रो तथा २९ औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे।

स्टार सिटीका लागि प्रदीप लामाले दुई गोल गर्दा विनोद केवतले एक गोल गरे। प्रदीपले दोस्रो हाफको १५ औं र ३२ मिनेटमा गोल गरे। विनोदले भने खेलको ४१ औं मिनेटमा गोल गरे। बिएस १५ स्पोर्टस एकेडेमीका लागि विदेशी खेलाडीद्धय गुईलामे डिनले दोस्रो हाफको ४० औं मिनेट र ग्लोरीले अतिरिक्त समयमा गोल गरे। प्रतियोगिताको दोस्रो ह्याट्रिक सहित हालसम्म ४ गोल गर्दै सर्वाधिक गोलकर्ताको रुपमा रहेका स्टार सिटीका कुवेर सिंह खेलको म्यान अफ द म्याच बने। उनले नगद ५ हजार सहित ट्रफी पाएका छन्।

धनगढी रंगशालामा भएको दोस्रो सेमिफार्ईनल खेलमा आयोजक फारवेष्ट पशुपति युवा क्लबलाई स्तब्ध पार्दै पहिलो पटक प्रतियोगिता खेलिरहेको ईलाईट युवा क्लबले पनि प्रतियोगिताको फाईनलमा स्थान बनाएको छ। ईलाईटले फारवेष्ट पशुपतिलाई ३–० ले हराएको हो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका ईलाईटका भुपेन्द्र शाही खेलको म्यान अफ द म्याच समेत बने। उनले नगद उनले नगद ५ हजार सहित ट्रफी पाएका छन्।

पुस ६ गतेदेखि सुरु भएको प्रतियोगिता पुस १४ गते शनिबार सकिनेछ। धनगढी रंगशालामा शनिवार दिउँसो साढे २ बजे उपाधिका लागि स्टार सिटी र ईलाईट प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पाउने छन्।

तपाईको प्रतिक्रिया