२४ जेठ, धनगढी : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिष्ठान बनाएर खप्तडको विकासका लागि पहल गर्ने बताएका छन । खप्तड क्षेत्रलाई आर्थिक, पर्यटन तथा धार्मिक केन्द्रका रूपमा विकास गर्न छुट्टै कोष वा प्रतिष्ठान बनाएर सहयोग गर्ने प्रधानमन्त्री प्रचण्डले बताएका छन ।
प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्न खप्तड पुगेका प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्रलाई पर्यावरणमत्री बनाउँदै पर्यटन र आधात्मिक केन्द्रका रूपमा विकास गर्न पहल गर्ने बताए ।
उनले प्रकृतिले दिएको स्वर्गको सही सदुपयोग गरी समृद्धि हासिल गर्ने परियोजना निर्माणका लागि समेत सबैसँग सहकार्य गर्ने बताए । सुदूरपश्चिमको विकास र समृद्धिका लागि गेटामा विश्वविद्यालय निर्माणदेखि भारत भ्रमणका क्रममा गरिएका समझदारीसम्ममा आफुले पहल गरेको र गर्दै जाने समेत बताए । उनले नयाँ संरचनासहित खप्तडको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
खप्तड धार्मिक र पर्यटकीय दृष्टिकोणले सुदूरपश्चिमको केन्द्र हो। यसलाई आर्थिक केन्द्र बनाउन सकिने प्रधानमन्त्री दाहालले बताए । तीन दिनसम्म चल्ने सम्मेलनमा भाग लिन भारतका धार्मिक तथा योगगुरु रामदेव, आयुर्वेदविज्ञ आचार्य बालकृष्ण सहभागी थिए । योगगुरु रामदेव पश्चिमी नाका गड्डाचौकीबाट खप्तडका लागि नेपाल प्रवेश गरेका थिए ।