पुनर्वासमा जारी वडाध्यक्ष कपको फाइनलमा त्रिभुवन युवा क्लव र झिलमिला युवा समाज भिड्ने

पुनर्वास, कार्तिक २९ । कञ्चनपुरको पुनर्वासमा जिल्ला निर्वाचन क्षेत्र नं. १ स्तरीय अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता वडाध्यक्ष कपको उपाधिका लागि आयोजक त्रिभुवन युवा क्लव र झिलमिला युवा समाज बेलडाँडी भिड्ने भएका छन् ।

पुनर्वास नगरपालिका वडा नम्बर ६ स्थित त्रिभुवन युवा क्लबको घरेलु खेलमैदानमा जारी प्रतियोगितामा आयोजक त्रिभुवन युवा क्लव र झिलमिला युवा सामाजले फाइनलमा स्थान पक्का गरेका हुन् ।

बिहीबार भएको सेमिफाइनलको पहिलो खेलमा झिलमिला युवा समाज बेलडाँडीले पुनर्वासको शिद्धार्थ युवा क्लवलाई २–३ गोल अन्तरले पराजित गरेर फाइनलमा प्रवेश गर्यो भने आयोजक त्रिभुवन युवा क्लवले हिमाल फ्र्याण्ड्सलाई ०–३ ले पराजित गरेर फाइनलमा गयो ।

प्रतियोगिताको फाइनल आगामी मंसिर १ गते (शनिबार) हुनेछ । प्रतियोगिताको विजेता हुने टिमले नगद १ लाख ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने दोस्रो हुने टिमले नगद ५५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

यस्तै, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

‘खेलकुद हाम्रो सान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ यो प्रतियोगिता यही कार्तिक २३ गतेदेखि सुरु भएको हो ।

पुनर्वासमा यो प्रतियोगितालाई यसअघि निर्वाचन क्षेत्र नं. १ स्तरीय गरिँदै आएकोमा यस वर्षदेखि अन्तर क्लब पुरुष फुटबल प्रतियोगिता वडा अध्यक्ष कप गर्न लागिएको हो । यस प्रतियोगितामा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका २२ टिमको सहभागिता रहेको थियो ।

त्रिभुवन युवा क्लब का अध्यक्ष जित बहादुर तामाङले आगामी दिनमा फुटबल खेलको विकासका लागि खेलप्रति आकर्षण बढाउन र स्थानीय तहमा युवाहरूको सक्रियता जनाउन प्रतियोगिता सञ्चालन गरिएको बताए । उनले पुनर्वासले राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा दक्षिणी क्षेत्रको ठूलो भूमिका रहेको समेत बताए ।

तपाईको प्रतिक्रिया