पहिरोका कारण जोखिमपूर्ण घरमा बास

३० चैत,बाजुरा : बाजुराको बूढीगङ्गा नगरपालिका–२, नडाङका तुलाराम नेपालीको घरनजिकै पहिरो गए पनि उनको परिवार जोखिम मोलेर त्यसै घरमा बस्न बाध्य छन्।

२०७७ सालको अविरल वर्षाका कारण उनको घरको आँगनमै पहिरो पुगेको थियो । पहिरोका कारण बास बस्नका लागि उपयुक्त छैन तर पनि अन्य कतै व्यवस्था नभएपछि नेपालीको परिवार त्यही घरमा बस्न बाध्य भएका छन ।

दुई वर्षदेखि घर पहिरोको जोखिममा रहेको भए पनि बस्नका लागि सुरक्षित ठाउँ नभएपछि सोही घरमा बस्नुपरेको गुनासो उनको छ। “पहिरोले घर जोखिममा परेको दुई वर्ष भयो। घर जोगाउन स्थानीय, प्रदेश तथा सङ्घीय सरकारसँग हारगुहार गरेँ तर कतैबाट सहयोग मिलेन,” उनले भने, “पहिरोले उठिबास लगाइसक्यो अन्त जाने ठाउँ छैन।”

बाढीपहिरोले नडाङको दलित बस्तीको उठिबास हुन लाग्दासमेत कुनै सरकारको ध्यान नगएको नेपालीले बताए। पाखो तथा भिरालो ठाउँका अधिकांश बस्तीमा बर्खाको समयमा माथिबाट पहिरो खस्ने र तलबाट नदीले काट्दै जाने गरेको छ।

यसको नियन्त्रणका लागि स्थानीय सरकारसँग माग गर्दै आए पनि केही सुनुवाइ नभएको बूढीगङ्गा नगरपालिका–२, नडाङका स्थानीयवासीले बताएका छन्। स्थानीय तथा प्रदेश सरकारबाट बाजुरामा बर्सेनि करोडौँ रुपियाँ बजेट आए पनि त्यो बजेट बालुवामा पानी हालेझैँ हुने गरेको छ। 

पहुँच र शक्तिका आधारमा प्रदेश सरकारको बजेट बाजुरामा ल्याउने र कागजात मिलाएर खाने चलन बढ्दै गएको बताइन्छ। बाढीपहिरोबाट जोखिममा रहेका बस्तीको तथ्याङ्क सङ्कलन गर्दै आवश्यक सहयोग तथा बस्ती स्थानान्तरण गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको जिल्ला विपत् व्यवस्थापन समिति बाजुराले जनाएको छ।   

पछिल्लो समय बाढीपहिरोका कारण बाजुरामा झन्डै १५० भन्दा बढी बस्ती जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

तपाईको प्रतिक्रिया