पहाडि जिल्ला बैतडीमा औलोको जोखिम

१६ बैशाख, बैतडी : पहाडी जिल्ला बैतडीमा औलाको जोखिम रहेको छ ।

जिल्लाको मेलौली नगरपालिका वडा नं ४ र पञ्चेश्वर गाउँपालिका वडा नं ६ औलोको उच्च जोखिममा रहेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । साथै ती दुवै वडामा लामखुट्टे नष्ट गर्नका लागि बिषादी छर्किने अभियान जारी रहेको स्वास्थ्य प्रमुख भट्टले बताए ।

जिल्लाको अरु क्षेत्रको तुलानामा तल्लोसोराड क्षेत्रमा औलोको जोखिम बढी रहेको तथा महाकाली किनारका बस्तीहरुमा पनि औलोको जोखिम बढेको पहाडी क्षेत्रमा पनि लामखुट्टे उक्लिएसंगै औलोको जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

मेलौली नगरपालिका ४ का झण्डै २६० र पञ्चेश्वर गाउँपालिका ६ का झण्डै १५० घरधुरीमा लामखुट्टे नष्ट गर्ने अभियान अन्तर्गत बिषादी छर्कने कार्य भइरहेको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन जयसिंह बडालले बताए ।
जिल्लाको अन्य ठाउँ पनि औलोको मध्यम जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यद्यपि औलोका बिरामीहरुको संख्या भने कम हुँदै गएको छ । लगातारको प्रयासले औलोको बिरामी कम हुँदै गएका स्वास्थ्य प्रमुख भट्टले बताए ।

आर्थिक बर्ष २०७७÷७८ मा बैतडीमा ४ जना औलोका बिरामी फेला परेकोमा गत आर्थिक बर्षमा २ जना बिरामी फेला परेका थिए । चालु आर्थिक बर्षको अहिले सम्म २ जनामा औलो संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए ।

औलो लामखुट्टेको टोकाइबाट हुने भएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया