भिम चौधरी
धनगढी, २९ पुस/पश्चिम नेपालका आदिबासी थारु समुदायमा आजदेखि माघी पर्व सुरु भएको छ । साताभर धुमधामसँग मनाउने यो पर्व आज पुस अन्तिम दिनदेखि सुरु भएको हो । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको माघी पर्वको अवसरमा आज (पुस २९ गते) सार्वजनिक बिदा दिएको छ । यता, कैलालीको कैलारी गाउँपालिकाले थप दुई दिन बिदा दिएको छ । गाउँपालिकामा थारु समुदायको बाहुल्यता रहेकाले गाउँपालिकाको हिउँदे अधिवेशनले गरेको निर्णय अनुसार माघ २ र ३ गते बिदा दिइएको गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले बताए ।
पश्चिम नेपालको थारु समुदायमा माघी पर्व पुस महिनाको अन्तिम दिनदेखि नै सुरु हुने भएकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयले जनाएको छ । पुस अन्तिम दिन थारु समुदायमा बंगुर (जिता) मारेर सामूहिक रूपमा पर्व मनाउने प्रचलन रहेको छ । माघीको पहिलो दिनलाई थारु भाषामा ‘जिता मर्ना’ दिन भनिन्छ ।
थारु समुदायले माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । माघ १ गतेदेखि थारु सम्वत एवम थारु समुदायको नयाँ वर्ष सुरु हुनेगरेको छ । माघी पर्व सुरु भएसंगै थारु बस्तीमा माघीको चहलहपल बढेको छ । सबैभन्दा ठूलो पर्व भएकाले थारु समुदायले माघीलाई धुमधामसँग मनाउने गरेका छन् ।
यो समुदायका अगुवाहरुका अनुसार माघीको पहिलो दिन अर्थात पुस महिनाको अन्तिम दिन वर्षदिनको दुःख, पीडा भुलेर मिठो खाने, नाचगान गर्दै रमाउने चलन रहेको छ । यो दिन हरेक थारु गाउँमा बंगुर मारिएको हुन्छ । विशेष गरेर बंगुरको मासु लगायतका परिकार खाने र रमाउने चलन छ ।
पुस महिनाको अन्तिमरात्रि गाउँघरका अगुवा, भलमन्सा लगायतको घरमा खानपान गर्ने, जाग्राम बस्दै नाचगान गर्ने, डफको तालमा मौलिक धमार गीत गाउने लगायतको कार्य हुने गरेको छ । त्यसपछि माघ १ गते अर्थात माघे सङ्क्रान्तिका दिन विहानै नदी, ताल, पोखरीमा नुहाउने गरिन्छ । यसरी, माघे सङ्क्रान्तिको दिन विहानै स्नान गर्नाले पूण्य प्राप्ती हुने जनविश्वास रहेको थारु जनमा विश्वास छ ।
थारु अगुवाहरुका अनुसार माघीमा एक दिन पानी किनेर नुहाउनु पर्ने मान्यता छ । सोही कारण, नदी, पोखरी, तलाउमा नुहाउनेले आफू नुहाउनु अगाडि रुपैयाँ, पैसा पानीमा चढाउने चलन छ । नुहाइ सकेपछि घरका सबै व्यक्तिले चामल, नून, बेसार छुने र आफूभन्दा ठूलालाई सेवा ढोग गर्ने, सानालाई आशीर्वाद दिने चलन रहेको छ । यो दिन अत्यन्त महत्वपूर्ण रहेको र यहि दिनबाट थारु समुदायको नयाँ वर्ष सुरु हुने गरेको छ ।
माघे सङ्क्रान्ति अर्थात नयाँ वर्षको दिन आफ्नो परिवार, इष्टमित्र, आफन्त सबैलाई भेटघाट गर्दै माघीको शुभकामना आदान प्रदान गर्ने गरिएको छ । यो दिन प्राणी हिंसा गर्न बर्जित गरिएको र ढिक्री, तरुल, तिलको लड्डु, सखरखण्डजस्ता परिकार खाने चलन रहेको छ । माघी १ गतेलाई ‘माघ लहान’ भन्ने गरिन्छ ।
माघ २ गते अर्थात माघीको अन्तिम दिन भने विवाहित छोरीलाई उपहार ‘निसराउ’ दिने घरपरिवार र गाउँको आर्थिक हरहिसाब परिवार र गाउँवासी समक्ष प्रस्तुत गर्नेदेखि लिएर वर्षभरि भएका कामकाजको समीक्षा गर्ने जस्ता कार्य गरिन्छ । थारु समुदायमा हरेक वर्ष एक दिन सामाजिक परीक्षण हुने गर्दछ, त्यो भनेकै माघको अन्तिम दिन हो ।
यहि दिन नै आगामी दिनमा के, कसरी काम गर्ने भनेर त्यसको योजना बनाउने लगायतको कार्य हुने गर्दछ । यसलार्ई ‘खोज्नीबोज्नी’ भनिन्छ । माघमा परिवारको मूली र गाउँका नेतृत्वकर्ता चयन गर्ने गरिन्छ । भलमन्सा प्रथाबाट चल्दै आएको थारु समुदायले यही महिनामा गाउँको नेतृत्व गर्नका लागि भलमन्सा लगायत अन्य पदाधिकारी चयन गर्ने गर्दछन् ।