१४ साउन, धनगढी : मिस माल्टा चेरिस स्पीटेरी सोमबार नेपाल भ्रमणमा आइपुगेकी छन् । उनी सोमबार बिहान टर्सिस एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै नेपाल पर्यटन बोर्डको अगुवाइमा स्वागत गरिएको छ।
उनीसहितको टोलीलाई ढाकाटोपी र पञ्जेबाजाले स्वागत गर्दै विमानस्थलमा न्यानो आतिथ्यता प्रदान गरिएको थियो । मिस माल्टासहितको टोली नेपाल भ्रमणमा आउनुले धेरै अर्थ राख्ने एनआरएनएका अभियन्ता तथा माल्टाका लागि नेपालको पर्यटन दूत प्रकाश भण्डारीले जानकारी दिए ।
उनीहरुको भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने भण्डारीको विश्वास छ । नेपाली कामदारहरुको पछिल्लो समय माल्टामा बढ्दो उपस्थितिकै बीच मिस माल्टाको भ्रमणले माल्टासहित समग्र युरोपमा नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
टोलीमा मिस माल्टाका अन्य अन्य सदस्यहरु केर्स्टन बोर्ग,डेनियल जम्मिट,एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु छन् । नेपालमा रहँदा मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थाहरुसँग मिलेर सामाजिक कार्य गर्नेछन् । यस्तै उनीहरु मिस नेपालको ग्राण्ड फिनालेमा पनि सहभागी हुने जनाइएको छ ।
यस्तै चितवनसहितका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्नुका साथै नेपाल चिनाउने डकुमेन्ट्री पनि निर्माण गर्ने टोलीको योजना रहेको गैरआवासीय नेपाली संघ(एनआरएनए)का अभियन्ता सोम सापकोटाले जानकारी दिए ।
मिस माल्टामा कोरियोग्राफरका रुपमा नेपाली सुजित बस्यालसमेत कार्यरत छन् । उनीबाटै मिस माल्टाको टीमले नेपालबारे चासो दिएको र पछि माल्टाका लागि नेपालको पर्यटन दूत भण्डारीको पहलमा अहिले नेपाल भ्रमण गराइएको बताइएको छ ।
टोली नेपाल भ्रमण पूरा गरेर साउन २२ मा स्वदेश फर्किनेछ । मिस माल्टालाई स्वागत गर्न एनआरएनए माल्टाका रेम्स खनाललगायत समेत विमानस्थलमा सहभागी थिए ।