१४ बैशाख, काठमाडौं : स्पिनर सन्दीप लामिछानेको अलराउण्ड प्रदर्शनमा घरेलु टोली एसीसी प्रिमियर कपको समुह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले पराजित गर्दै नेपाल समुह ए को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।
आजै मूलपानी मैदानमा जारी हङकङ र कुवेतबीचको खेलको नतिजापछि मात्र नेपालले अन्तिम चारमा खेल्ने टोलीको टुङ्गो लाग्नेछ ।
नेपालले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रन बनाउँदा अलआउट भयो ।
जहिर इब्राहिम र खुराम शहजादले बनाएको १५ रन नै कतारका लागि सर्वाधिक रह्यो। अमिर फरुकले १४ रन थपे ।
कतारलाई कम स्कोरमा रोक्न सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए। सन्दीपले ९ ओभरमा ३ मेडन राख्दै मात्र १४ रन दिए । सोमपाल कामीले ३ विकेट झारे । ललित राजवंशीले दुई विकेट आफ्नो नाममा गरे ।
सोमपालले ७ ओभरमा १ मेडन राख्दै २४ रन खर्चे। ललित राजवंशीले ५ ओभरमा २७ रन खर्चे । गुलसन झाले ३ ओभरमा १७ रन दिए ।
त्यसअघि त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कतारले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४०।३ ओभरमा १ सय ५७ रनमा अलआउट भएको थियो ।
खराब प्रर्दशन गरेको नेपालका नौ ब्याटर क्याच आउट भए। कतारको घातक बलिङसामु नेपालका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन ्।
अन्तिम विकेटका लागि सन्दीप लामिछाने र ललित राजवंशीले ४६ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। ५७ बलको सामना गरेका सन्दीपले ६ चौका मद्धतमा ४२ रनमा नटआउट रहे ।
सन्दीपले बनाएको ४२ रन नै नेपालका लागि सर्वाधिक रह्यो। सन्दीपले अन्तराष्ट्रिय कुनै पनि प्रतियोगितामा बनाएको यो नै सर्वाधिक रन हो । यसअघि उनले फस्ट क्लास खेलमा एमसीसीविरुद्ध कीर्तिपुर मैदानमा ३९ रन बनाएका थिए ।
कप्तान रोहित पौडेलले २७ रन बनाए । आशिफ शेखले १९ र दिपेन्द्र सिंह ऐरिले १२ रन थपे। सोमपाल कामी र आरिफ शेखले समान ११ रन बनाए ।
अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । नेपालले पावर प्ले मा नै दुई ब्याटरलाई गुमाउँदै ४६ रन बनाएको थियो ।
२६ बलको सामना गरेका रोहित लामो सट खेल्ने धुनमा रहँदा ओवाइस अहमदको बलमा क्याच आउट भए । आशिफ २७ बलमा २ चौका मद्दतमा १९ रन बनाउँदा क्याच आउट भए ।
नेपालले ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा मुनाविरको बलमा खुराम सहजादको हातबाट २ रनमा क्याच आउट भए । भिम सार्की ६ रन बनाउँदा मुनाविरको बलमा नै क्याच आउट भए। कुशल मल्ल ३ रनमा क्याच आउट भए । गुलसन झा ७ रनमा क्याच आउट भए ।
कतारका अमिर फरुकले सर्वाधिक ४ विकेट लिए। ओवाइस अहमदले ३ तथा गयन मुनाविरले दुई तथा इक्रमुल्लाह खानले एक विकेट आफ्नो नाममा गरे । –नेपालखबर