काठमाडौं। कञ्चनपुरको निर्मला पन्त हत्या प्रकरणमा यसअघिका समितिहरूले बनाएका अनुसन्धान प्रतिवेदनको अध्ययन गर्न प्रहरी प्रधान कार्यालयले नयाँ समिति बनाएको छ ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दुई महिनाअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाको नेतृत्वमा यो समिति बनाएका हुन् ।
यो समितिलाई विगतमा गठन भएका सबै समितिका प्रतिवेदन अध्ययन गरेर निचोडहरुलाई एकीकृत गर्न जिम्मेवारी दिइएको छ ।
सात सदस्यीय समितिमा अपराध अनुसन्धान विभागका उच्च अधिकृतहरु पनि रहेको बताइएको छ ।
प्रहरीले समिति गठनको विषयलाई गोप्य राखेर काम गरिरहेको थियो । तर, एक टेलिभिजनमा आफू निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी भन्दै एक व्यक्तिले अन्तर्वार्ता दिएपछि समितिले अध्ययनको कामलाई थप तीब्रता दिएको छ ।
कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–२, उल्टाखाम निवासी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । यश प्रकरणमा प्रहरीले सयौं व्यक्तिमाथि सोधपुछ र डीएनए जाँच गरेपनि अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन ।