नागरिक उन्मुक्तिमा अब दुई अध्यक्ष, रेशम र रञ्जिताबीच यस्तो सहमति

काठमाडौँ, असोज ९ । नागरिक उन्मुक्ति पार्टीमा विगत आठ महिनादेखि देखिएको आन्तरिक विवाद समाधान भएको छ ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संस्थापक नेता रेशमलाल चौधरीबीच भएको सहमति अनुसार अब पार्टीमा दुई अध्यक्ष हुने भएका हुन् ।

दुवै जनाको बिचमा सहमति भएपछि संयुक्त हस्ताक्षरबाट असोज १८ र १९ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

पार्टीको प्रथम महाधिवशेनबाट रेशमलाल चौधरी अध्यक्षमा चयन भएका थिए । तर निर्वाचन आयोगमा परेको उजुरीको कारण उनको अध्यक्ष पद विवादमा परेको थियो । त्यसपछि रञ्जिता श्रेष्ठले आफू नै अध्यक्ष रहेको घोषणा गरेकी थिइन् ।

अध्यक्ष पदलाई लिएर दुवै जनाबिच विवाद उत्पन्न भएको थियो । रेशमलाल चौधरी महाधिवेशनबाट आफू अध्यक्ष भएको दाबी गरिरहेका थिए भने रञ्जिता श्रेष्ठले आफू नै सो पार्टीको अध्यक्ष रहेको दाबी गरिरहेकी थिइन् । रेशम र रञ्जिता श्रीमान–श्रीमती हुन् ।

पार्टी दुई गुटमा विभाजित भएको थियो । दुवैले एक अर्का पक्षका नेता तथा कार्यकर्तालाई कारबाहीसम्म गरेका थिए ।

महाधिवेशनबाट बनेको अध्यक्षबारे निर्वाचन आयोगमा मुद्दा विचाराधीन रहेका कारण पार्टीमा अध्यक्षको हैसियताले हस्ताक्षर रञ्जिता श्रेष्ठको चल्छ भने बाँकी काम रेशम चौधरीले गर्ने सहमति भएको बताइएको छ ।

आगामी केन्द्रीय समितिको बैठकबाट पार्टीको संगठन निर्माण तथा सुदृढीकरणको विषयमा विस्तृत छलफल हुने संरक्षक चौधरील बताए ।

तपाईको प्रतिक्रिया