धनगढी, असोज १५ । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कैलालीले धनगढीस्थित स्तरोन्नति गर्न लागिएको दशरथ भीम उद्यानको नाम परिवर्तन गरि साविककै नाम राख्न माग गरेको छ ।
संगठनले मंगलबार धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई ज्ञापनपत्र बुझाउँदै पार्कको साविकको नाम ‘बीरेन्द्र ऐश्वर्य उद्यान’ नामाकरण गर्न माग गरेको हो ।
केही वर्षदेखि अलपत्र परेको पार्कलाई व्यवस्थित गर्न लागिएकोमा धनगढी उपमहानगरपालिकालाई धन्यबाद दिँदै संगठनले त्यसको इतिहास जगेर्ना गर्न पार्कको साविककै नाम राख्न माग गरेको छ ।
यसअघि २०६५ पुस १३ गतेको प्रथम नगरपरिषदको बैठकले राजाका नाममा रहेका संरचनाहरुको नाम परिवर्तन गरी इतिहास मेटाउन गरेको कुचेष्टाप्रति विमती रहेको संगठनले जनाएको छ ।
साथै संगठनले पार्कभित्र राजा बीरेन्द्र र रानी ऐश्वर्यको सालिक राखेर मात्रै स्तरोन्नतिको योजना अघि बढाउन समेत उपमहानगरपालिकाको ध्यानाकर्ष गरेको छ ।
धनगढी धनगढी उपमहानगरपालिकाले दशरथ भीम उद्यानलाई आधुनिक पार्क बनाउने योजनासहित निर्माण प्रक्रिया सुरु गरेको छ । निर्माणको पहिलो चरण अन्तर्गत ब्लक १ देखि ७ सम्मको ठेक्का सम्झौता गरिएको छ ।
पार्कलाई बच्चा, वयस्क, वृद्ध र व्यावसायिक गरी चार भागमा विभाजन गर्ने जनाइएको छ । पार्क क्षेत्रको बाहिरी भागमा रात्रिकालीन बजार सञ्चालनका लागि पनि डिपिआरको तयारी पूरा भएको उपमहानगरले जनाएको छ ।