धनगढी उपमहानगरपालिकाले घरधनी र भाडामा बसी रहेका व्यक्तिबिचको सम्झौता अनुसार काम नगर्दा स्थानीयहरु मारमा

२६ भदाै,धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर ७ की रामजानकी चौधरी घर भाडामा लिएर व्यवसायी गर्दै आउनु भएकी छिन् । चालु आर्थिक वर्षको घरबहाल कर बुझाउन वडा कार्यालय पुगेकी चाैधरी करको दायरा बढेको देख्दा हत्तोत्साहित भईन् ।

धनगढी उपमहानगरपालिकामा आर्थिक वर्ष २०७८-७९ सम्म दुई हजार व्यवसाय कर र एक हजार दुई सय घरबहाल कर तिर्दै आउनु भएकी थिइन् । उहाँबाट आर्थिक वर्ष २०७९-८० मा बहाल कर भन्दै आठ हजार चार सय असुल गरेको थियो भने चालु आर्थिक वर्षमा उहाँलाई छ हजार शुल्क तिर्न भनियो ।

उहाँ भन्छिन् –‘म घरबेटीलाई मासिक चार  हजार घर भाडा दिन्थे । घरबहाल कर पनि आफै तिर्दै आएको छु । तर, एक्कासी जानकारीनै नदिइ मबाट बढी बहाल कर असुल्ने प्रयास भयो ।’ उहाँको छेउमै व्यवसाय गरिहेका व्यवसायीबाट भने उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९-८० मा दुई हजार दुई सय रकम बहाल कर असुल गरेको थियो ।

`मलाई नगरपालिकाको रातो कितावमै घर वहाल कर रकम उल्लेख भएकोले सोही अनुसार लिइनुपर्ने प्रावधान भन्दै बढी कर लग्यो । तर, छेउमै रहेको अन्य व्यवसायीलाई कम रकम लग्यो । के कानुन सबैका लागि बराबर होइन । की मबाट बढी राजश्व असुल गर्न खोजेको हो ?’ चाैधरीले बताउनु भयाे ।

धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९-८० देखि वडा अनुसार र सडक  क्षेत्रभित्र रहेका स्थानमा बहालकर प्रयोजनका लागि न्यूनतम घर भाडा दर निर्धारण गरेको थियो । सोही आर्थिक ऐनलाई संशोधन गर्दै चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ । उपमहानगरपालिकाले व्यापारिक प्रयोजन तथा आवासिय घर गरी दुई क्षेत्रमा घर भाडा दर उल्लेख छ । व्यापारिक प्रयोजनका लागि न्यूनतम एक हजार र आवासिय घरका लागि न्यूनतम पाँच सयबाट शूरु भएको छ । व्यवसायीक प्रयोजनका लागि अधिकत्तम घर भाडा दर १० हजार र आवासका लागि अधिकत्तम एक हजार पाँच सय कायम गरेको छ ।

आर्थिक ऐनले धनगढी उपमहानगरपालिकाको वडा नम्बर १, २ र ४ मा व्यवसायीक प्रयोजनका लागि घर भाडा दर दश हजार निर्धारण गरेको छ । वडा नम्बर ७ मा व्यवसायी गरिरहेकी राम जानकीको घर भाडा दर छ हजार निर्धारण गरेको छ । तर, उपमहानगरपालिकाले न्यूनतम घर भाडा दर निर्धारण गरेपनि सोमा कति प्रतिशत बहाल कर उठाउने भन्ने उल्लेख गरेको छैन ।

वडा नम्बर ७ का वडा सचिव धर्मानन्द पाण्डेले रातो कितावमै घर बहाल कर निर्धारण भइ आएकोले उहाँ व्यवसायी गर्दै आएको क्षेत्रको बहाल कर वृद्धि भएको बताउनु भयाे । उहाँले भन्नुभयाे –‘उहाँसंगमात्र होइन त्यस क्षेत्रमा व्यवसायी गर्दै आएका सबैसंग रातोकितावमा उल्लेख भए बमोजिम कर असुल भइरहेको छ । तर, कसैबाट कम कर असुल भएकोबारे मलाई जानकारी थिएन । त्यसकारण यस विषयमा म उपमहानगरपालिकामा छलफल गर्ने छु ।’ सचिव पाण्डेले बताउनु भयाे ।धनगढी उपमहानगरपालिकाले घर बहाल कर घरधनी र भाडामा बसी रहेका व्यक्तिबिचको सम्झौता अनुसार कर लिनुपर्ने हुन्छ । तर, सो अनुसार अघि नबढ्दा स्थानीयहरु मारमा परेका छन् ।

तपाईको प्रतिक्रिया