धनगढी उपमहागरपालिकामा निर्माण हुने भनिएको फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेन

३१भदौ,धनगढीः कैलालीको धनगढी उपमहागरपालिकामा निर्माण हुने भनिएको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेको छैन। यसका लागि रुख कटानको अनुमति नपाउँदा कामले गति लिन नसकेको हो।
दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी गत वर्ष नै चिनियाँ कम्पनीसँग सम्झौता गरिएको थियो। धनगढी(७ स्थित पटेलामा क्षेत्रीय सहरी विकास आयोजनाले केन्द्र निर्माणका लागि ठेक्का सम्झौता गरेको जनाइएको छ।

एसियाली विकास बैंक (एडिबी)को सहुलियत ऋण सहयोगमा धनगढीमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङसँग सम्झौता भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर सौरभ कलौनीले जानकारी दिए। उनका अनुसार २ वर्षभित्रै एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि गत वर्ष पुस महिनामा ९६ करोड ८२ लाख ३९ हजार ६४६ रुपैयाँमा चिनियाँ कम्पनीसँग सम्झौता भएको हो।
सो केन्द्र निर्माणस्थलमा झण्डै २ हजार रुख काट्नुपर्ने देखिएको छ। रूख कटान अनुमतिका लागि प्रतिवेदन वन मन्त्रालयमा बुझाइसकिएको आयोजना कार्यालयले जनाएको छ। फोहरमैला व्यवस्थान केन्द्र बनाउन २२ हेक्टरमा करिब २०० बिरुवा काट्नुपर्ने क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर कलौनीको भनाइ छ।

तपाईको प्रतिक्रिया