धनगढीले गर्‍यो- आचार्य कृष्णबहादुर दमाईलाई नगदसहित सम्मान, जागिर पनि दिने

८ भदौ , धनगढी : संस्कृत साहित्यमा आचार्य पास गरेका कृष्णबहादुर दमाईलाई सामाजिक रुपान्तरणमा लाग्न आग्रह गरिएको छ।

शनिवार धनगढी उपमहानगरपालिकाले आयोजना गरेको सम्मान कार्यक्रमका वक्ताहरूले दमाईले सनातन धर्मको रक्षा गर्न र सामाजिक विभेद अन्त्य गर्न अग्रणी भूमिका खेल्नुपर्ने बताएका हुन्। शिल्पी समुदायबाट संस्कृत साहित्यमा आचार्य गरेका कृष्णबहादुरलाई धनगढी उपमहानगरले सम्मानपत्र, मायाको चिनो र एक लाख ५१ हजार नगदसहित सम्मान गरेको हो।

आर्थिक समस्या खेपिरहेका आचार्य दमाईलाई उपमहानगरले आर्थिक सहयोगसँगै रोजगारी समेत दिने भएको छ। आचार्य दमाईले चाहेको बेला उपमहानगरले उनको योग्यता अनुसारको जागीर दिने भएको हो। यस्तै, समाज रुपान्तरण गर्न आचार्य दमाईले अगुवाई गर्नुपर्ने आग्रह गरिएको छ। सामाजिक रुपान्तरण र सनातन धर्मको रक्षाका लागि भेदभाव नगरी एकजुट भएर काम गर्नुपर्ने वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालले बताए।

उनले आचार्य कृष्णबहादुरले संस्कृत शिक्षा अध्ययन गरेर विभेद उन्मुलन गर्दै समाजलाई सही दिशानिर्देश गर्न प्रेरित गर्न सक्नुपर्ने बताए। अध्यक्ष रिजालले सबैले आचार्य कृष्णबहादुर दमाईलाई सहयोग गर्नुपर्ने बताए। यस्तै, वडा नम्बर ४ का अध्यक्ष बुद्धिबहादुर खड्काले आचार्य कृष्णबहादुर दलित समुदायको मात्रै नभएर सम्पूर्ण सनातनीहरूका लागि उदाहरणीय व्यक्ति भएको बताए।

धनगढी उपमहानगरपालिकाले संस्कृत साहित्यमा आचार्य पास गर्ने कृष्णबहादुर दमाईलाई बाजागाजासहित स्वागत गर्दै नगर सभा हलमा नगर प्रमुख हमाल, कार्यपालिका सदस्य र कर्मचारीहरूले कृष्णबहादुरको स्वागत गरेका हुन्।

सम्मान समारोहमा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो। शिल्पी समुदायबाट संस्कृतमा उच्च शिक्षा हासिल गरेका दमाईले सामाजिक रुपान्तरणका लागि काम गर्नुपर्ने कार्यपालिका सदस्य चक्र नेपालीले बताए। उनले संस्कार र शिक्षाको अभावमा दलित समुदाय पछाडि परेको बताउँदै कृष्णबहादुरले आफूसँगै अरुलाई पनि संस्कार र कर्मकाण्ड सिकाउनुपर्ने बताए।

तपाईको प्रतिक्रिया