धनगढीमा सुदूरपश्चिम महोत्सव सुरु

धनगढी, मंसिर २२ । कैलालीको धनगढीमा आज (शनिबार)देखि सुदूरपश्चिम महोत्सव सुरु भएको छ ।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको १८औं संस्करणको महोत्सवको एक समारोहकाबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा आयोजक कैलाली उद्योग वाणिज्य संघले उद्योगमन्त्री भण्डारीले १० बुँदे मागपत्र पनि बुझाएको छ । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले पश्चिम सेती जलविद्युत आयोजना र सुख्खा बन्दगाह निर्माण, सेती प्रादेशिक अस्पताल र त्रिनगर–गौरीफन्टा नाकाको स्तरोन्नति लगायतका माग समेटिएको मागपत्र मन्त्री भण्डारीलाई बुझाउनुभयो ।

महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै उद्योग मन्त्री भण्डारीले समग्र सुदूरपश्चिम प्रदेशको विकासका लागि कैलाली उद्योग वाणिज्य संघले विगतदेखि नै विभिन्न मागहरु उठाउँदै आएको बताउनुभयो । उहाँले बाँकी मागहरु पनि यस क्षेत्रको विकासका लागि भएकाले क्रमिक रुपमा पूरा हुँदै जाने बताउनुभयो ।

यस्तै उहाँले कञ्चनपुरमा सुख्खा बन्दरगाहा बने सुदूरपश्चिम देशकै व्यापारिक हबका रुपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो । बन्दरगाहमार्फत विभिन्न मुलुकबाट बस्तुहरु आयात निर्यात गर्न पाए सुदूरपश्चिमको विकासको ढोको खुल्ने उहाँले बताउनुभयो ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले व्यवसाय अभिवृद्धिसँगै सुदूरपश्चिमको आर्थिक विकासका लागि लगानीको सम्भावनाहरुको खोजी गर्न र यस क्षेत्रको पर्यटन विकास, कला, संस्कृति, खानपान, भेषभुसाको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो ।

तीन करोडको लगानीमा सञ्चालन भएको महोत्सवबाट करिब १५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।

महोत्सवमा कृषि उत्पादन, जडिबुटी, हस्तकला, गारमेन्ट, इलेक्ट्रोनिक, होटेललगायतका पाँच सय ३१ वटा स्टल राखिएको आयोजकले जनाएको छ ।

महोत्सव अवलोकनका लागि एक सय रुपैयाँ टीकट लाग्ने छ । विद्यार्थीलाई ५० रुपैयाँ तथा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया