धनगढी, मंसिर १ । धनगढी उपमहानगरपालिकामा आज (शनिबार)देखि शनिबारीय महिला उद्यम बजार सञ्चालन भएको छ ।
‘महिलाहरुको श्रम सम्मान, आर्थिक सशक्तीकरणको अभियान’ भन्ने मुल नारासहित आजदेखि धनगढीको पार्कमोडमा शनिबारीय महिला उद्यम बजार सञ्चालन भएको हो ।
धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाको अध्यक्षतामा शनिबार एक कार्यक्रमको आयोजना गरी उद्यम बजार शुभारम्भ गरिएको हो ।
शनिबारीय बजारका लागि पार्कमोडको दक्षिण मुख्य सडकदेखि उत्तरतर्फ धनगढी रंगशालाको गेटसम्म जम्मा ६० वटा स्टल राखिएको छ । जसमध्ये २१ वटा स्टल विभिन्न वस्तुगत स्टल छन् भने बाँकी यस क्षेत्रको पहिचान झल्किने खाजा नास्ताका परिकारहरु छन् । उद्यम बजारमा परम्परागत खानाहरू, सीपहरू, उत्पादन गरेका बस्तुको बिक्रीवितरण गर्ने, विभिन्न संघ÷संस्थाले दिएका तालिमबाट सीप पाएका महिलाहरु मात्रै सहभागि हुन पाउँछन् ।
घरमा बस्दै आएका र सीप भएका महिलाहरूलाई निःशुल्क अवसर दिइएको छ । यसका लागि परिचयपत्र बनाइएको छ । महिलाहरूले तयार पारेका अचार, ढकिया, माछा, पकौडी लगायत बस्तु बिक्री भइरहेका छन् ।
उद्यम बजार उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख गोपाल हमालले गोपाल हमाल महिलाहरुले सिकेको सीपको सदुपयोग गर्ने र अन्यलाई सीप सिकेर उद्यमी बन्न हौसला प्रदान गर्ने उद्देश्यले हप्ताको एक दिन महिला उद्यम बजार सञ्चालन गरिएको बताउनुभयो । उहाँले व्यक्तिलाई सीप विकास सम्बधी तालिम मात्रै दिएर नहुने भएकाले त्यसका लागि उपमहानगरले स्थान दिएको बताउनुभयो । व्यवसाय प्रबर्द्धनमा सहयोग गर्न र हौसला प्रदान गर्न उहाँले सबै नगरबासीमा आग्रह समेत गर्नुभयो ।
तालिम तथा रोजगार सीप व्यवसायी संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रमोद पाठकले व्यक्ति आर्थिक रुपमा मजबुद हुन उद्यमशिल हुन जरुरी रहेको बताउनुभयो । उहाँले सिकेको सीप प्रयोग गर्ने र सीप सिकेर उद्यमी बन्न धनगढी उपमहानगरपालिकाले महत्वपूर्ण स्थान दिएकाले त्यसको सबैले फाइदा उठाउन आग्रह गर्नुभयो ।
मानव अधिकारका लागि एकल महिला सङ्घकी बेद अवस्थीले उपमहानगरपालिकाले सीप सिकेकाहरुलाई आफ्नो सीप प्रयोग गर्ने स्थान दिएर आफ्नो खुट्टामा उभिने वातावरण बनाइदिएको बताउनुभयो । उहाँले यस उद्यम बजारको निरन्तरता जरुरी रहेको बताउनुभयो ।
यस्तै युएन वमेनकी प्रतिनिधि प्रतिभा चौधरीले शनिबारीय महिला उद्यम बजार निरन्तरताका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । बल्ल महिलाहरुले आफ्नो सीप देखाउने अवसर पाएको भन्दै उहाँले यसले उद्यमीलाई हौसला मिलेको बताउनुभयो ।
बजार हरेक शनिबार शनिबार दिउँसो १ बजेदेखि बेलुका ६ बजेसम्म लाग्नेछ । बजार क्षेत्रमा शनिबारको दिन सवारी आवागन बन्द गरिएको छ ।