धनगढीमा ‘राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव’ सुरु

धनगढी, पुस ९ । कैलालीको धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव सुरु भएको छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा सुरु भएको महोत्सवको मंगलबार एक समारोहकाबीच सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्धघाटन गरे ।

सुदूरपश्चिम प्रदेशको पर्यटन, शिक्षा, स्टेशनरी, मसलन्द तथा छपाई व्यवसायको विकास तथा संस्कृतिको प्रवर्द्धनका लागि आयोजना गरिएको पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका अध्यक्ष भीम पडालले जानकारी दिए ।

अध्यक्ष पडालका अनुसार महोत्सवमा एक सय स्टल राखिएको छ । महोत्सवलाई दुई लाख दर्शकले अवलोकन गर्नुका साथै पाँच करोड बढीको कारोबार हुने अनुमान गरिएको छ । महोत्सव सञ्चालन गर्न झण्डै दुई करोड खर्च हुने अनुमान गरिएको छ ।

पुस्तक प्रदर्शनीसँगै महोत्सवमा विद्यालयस्तरीय नृत्य, कविता, वक्तृत्वकला र चित्रकला प्रतियोगितासँगै रमाइलो मेला र कलाकारका प्रस्तुति पनि हुने आयोजकले जनाएको छ । शैनिक महोत्सव १५ गतेसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया