धनगढी, पुस ८ । कैलालीको धनगढीमा मंगलबारदेखि नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव हुने भएको छ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा शैक्षिक महोत्सव हुन लागेको हो ।
संघले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । महोत्सवको उद्घाटन सुदूररपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गर्ने आयोजकले जनाएको छ ।
महोत्सवमा सुदूरपश्चिम प्रदेशका साथै देश र विदेशमा रहेका प्रकाशक, स्टेशनरी वितरक, शैक्षिक संस्था, मसलन्द सामाग्री, शिक्षण संस्थाहरु र शिक्षासँग सम्वन्धित निकायहरुका गरी एक सय बढी स्टल रहेको संघका कैलाली जिल्ला अध्यक्ष भीम पडालले जानकारी दिए ।
उनले महोत्सवमा विद्यालय स्तरीय नृत्य, कविता, वक्तृत्वकला र चित्रकला प्रतियोगिताहरु आयोजना बताए । उनका अनुसार प्रतियोगितामा आधारभूत र माध्यमिक तह गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ ।
महोत्सवमा रमाइलो मेलाका साथै राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुती रहने छ । साथै सुदूरपश्चिमका परिकारसहितका खाना र खाजाका स्टल समेत राखिने छ । शिक्षा र खेलकुदसँग सम्बन्धित विभिन्न विषयहरुमा बहस पनि सञ्चालन तथा त्यसमा मदन पुरस्कार विजेता साहित्यकारहरुका साथै विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरुको पनि सहभागीता रहने जनाइएको छ ।
धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा पुस १५ गतेसम्म सञ्चालन महोत्सव उद्घाटन अघि धनगढीको ट्राफिक चौराहदेखि महोत्सव स्थलसम्म प्रभातफेरीको आयोजना गरिएको छ ।
महोत्सवलाई दुई लाख दर्शकले अवलोकन गर्नुका साथै ५ करोड बढीको कारोवार हुने आँकलन गरिएको छ । महोत्सव आयोजना गर्न झण्डै दुई करोड बढी खर्च हुने अनुमान गरिएको छ ।
महोत्सव अवलोकनका लागि विद्यालय र क्याम्पसका विद्यार्थीहरु सामुहिक रुपमा पोशाकमा आएमा निशुल्क प्रवेश राखिएको छ । स्वस्फुर्त रुपमा आउने विद्यार्थीहरुलाई भने रु. ५० टिकटदर राखिएको छ । सर्वसाधारणका लागि भने रु. १०० राखिएको छ ।
जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तीहरुलाई महोत्सवमा प्रवेश निशुल्कको व्यवस्था गरिएको जानकारी दिइएको छ ।