धनगढीमा भएको सुदुरपश्चिम गौरा महोत्सव तथा डेउडा प्रतियोगिता भव्यताका साथ सम्पन्न : बाजुरेली सेवा समूह प्रथम

१६ भदौ, धनगढी : धनगढीमा सञ्चालित सुदुरपश्चिम गौरा महोत्सव तथा डेउडा प्रतियोगिताको प्रथम पुरस्कार बाजुरेली सेवा समूहले हात पार्न सफल भएको छ ।

भदौ १४ गतेबाट धनगढी उपमहानगरपालिकाकाे प्राङ्गणमा सञ्चालन भएको उक्त प्रतियोगितामा सहभागीता जनाउने सुदूरपश्चिमका ९ वटै जिल्लाका २२  वटा समुहमा प्रथम हुने बाजुरेली सेवा समूहलाई नगद २१ हजार, द्वितीय हुने बझाङ्गी महिला समूहलाई नगद १५ हजार र तृतीय हुने कल्पना खड्का समूहलाई नगद ९ हजारका साथै प्रमाणपत्र प्रदान गरिएको छ ।

सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा भाषा, साहित्य,कला र संस्कृतिको संरक्षण गर्नु हाम्रो दायित्व भन्ने मुल नाराका साथ २०७३ साल देखि निरन्तर आयाेजना गर्दै आएको उक्त प्रतियोगिता यसपटकाे ८ औं डेउडा प्रतियोगिता भव्यताका साथ सम्पन्न गरेको सुदूरपश्चिम डेउडा प्रतिष्ठानका महासचिव तोयानाथ भट्टले बताए ।

सहभागी सम्पूर्ण टिमलाई प्रमाण पत्र प्रदान गर्दै विभिन्न समयमा डेउडा प्रतिष्ठान र समग्र डेउडा क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई पनि सम्मान, प्रसंसा, अभिनन्दन सहित प्रमाणपत्र प्रदान गरिएकाे डेउडा प्रतिष्ठानका कोषाध्यक्ष प्रेम चन्दले जानकारी गराए ।

सुदुरपश्चिम गौरा महोत्सव तथा डेउडा प्रतियोगिता समापन समारोहको अध्यक्षता डेउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीले र प्रमुख आतिथ्यतामा सुदुर पश्चिम सरकारका निवर्तमान भौतिक पुर्वाधार मन्त्री दीर्घ सोडारी रहेका थिए ।

तपाईको प्रतिक्रिया