धनगढीमा फोहोर बोक्ने गाडीमा जिपीएस जडान

१७ असार, धनगढी  :  धनगढी उप–महानगरपालिकाले फोहोर बोक्ने गाडीमा जिपीएस जडान गरेको छ । धनगढी उपमहानगरपालिकाले फोहोर बोक्ने गाडी रहेको क्षेत्र पत्ता लगाउन दुईवटा गाडीमा जिपीएस जडान गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

धनगढी उपमहानगरपालिकाका फोहोरमैला व्यवस्थापन तथा सरसफाई शाखा प्रमुख अशोक अवस्थीले से २ च ३७१० र से १ त ७३९४ नम्बरका ट्याक्टरमा जिपीएस जडान गरिएको बताए । पहिला उपमहानगरपालिकाले मात्र गाडी रहेको क्षेत्र हेर्न सक्ने भए पनि अहिले नागरिकले समेत हेर्न पाउने अवस्थीले बताए ।

उप–महानगरपालिकाले नगरमा फोहोर बोक्ने गाडीमा जीपीएस जडान गरेको धनगढी उप–महानगरपालिकाका नगरप्रमुख गोपाल हमालले बताए । उनका अनुसार उपमहानगरपालिकाको तर्फबाट दुईओटा ट्राक्टरमा जीपीएस जडान गरिएको र फोहरमैला संकलनलाई थप प्रभावकारी बनाउन ‘समाजका लागि युवा’ संस्थासँगको सहकार्यमा उपमहानगरपालिकाले लुना जीपीएसको सेवा प्रयोगमा ल्याएको हो ।

एप मार्फत नगरवासीले सहजै फोहोर संकलन गर्ने गाडी कहाँ आइपुग्यो भनेर थाहा पाउन सक्ने व्यवस्थाका साथै सो गाडी घर नजिकै पुग्दा उक्त एपले नगराबासीको मोबाइलमा नोटिफिकेसन पठाउने व्यवस्था मिलाएको छ । प्रविधि प्रभावकारी भएमा फोहरमैला संकलन गर्ने अन्य गाडीहरुमा पनि उक्त प्रविधि जडान गरिने मेयर हमालले बताए ।

तपाईको प्रतिक्रिया