धनगढीमा निशेधित क्षेत्रमा सवारी पार्किङ गरे नगर प्रहरीले नियन्त्रणमा लिने

धनगढी । कैलालीको धनगढी उपमहानगरभित्र कार्यरत नगर प्रहरीले सार्वजनिक स्थानमा जथाभाबी सवारी पार्किङ गर्न नदिने भएको छ। नगर प्रहरीले पार्किङ निषेधित क्षेत्रमा सवारी राखेको पाए तुरुन्तै नियन्त्रणमा लिने गरी काम गर्ने भएको हो।

यसका साथै नगर प्रहरीले सडक क्षेत्रमा राखिएका निर्माण सामग्री समेत जफत गर्ने भएको छ। जथाभाबी रूपमा पार्किङ गरेर राखेका सवारीसाधन र सडक क्षेत्रमा राखिएका निर्माण सामग्री नियन्त्रणमा लिन उपमहानगरपालिकाले गाडी समेत खरिद गरेको छ। धनगढी बजार क्षेत्रका सडकमा गरिने पार्किङका कारण ट्राफिक जाम हुने गरेको भन्दै नगर प्रहरीले ट्राफिक प्रहरीसँगको सहकार्यमा काम गर्ने भएको हो। धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख भूपेन्द्र खड्काले सडकहरुमा निर्माण सामाग्री नराख्न र पार्किङ व्यवस्थापन गर्न सूचना सार्वजनिक गरिएको बताए। उनले भने, ‘निर्माण सामाग्री जफत हुने हो। लत्ताकपडा लिलामीमा जान्छ। सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गर्छ।’

धनगढी उपमहानगरभित्र कार्यरत नगर प्रहरीले पहिलो पटक सडक क्षेत्रमा पार्किङ गरिएका सवारी नियन्त्रणमा लिने भएको हो। सडक क्षेत्रमा पार्किङ नगर्न र पार्किङ स्थलको व्यवस्थापन गर्न उपमहानगरपालिकाले सूचना मार्फत जानकारी गराइसकेको छ। तर, बैँक तथा वित्तीय संस्थाहरू र सरकारी कार्यालय क्षेत्रका सडकहरूमा गरिने पार्किङका सवारी पहिलो चरणमा नियन्त्रणमा लिने तयारीमा नगर प्रहरी छ। सडक क्षेत्रमा पार्किङ गरिएका सवारी, सडकमा राखिएका ठेलागाडा र निर्माण सामाग्री बोक्न उपमहानगरपालिकाले ट्रक तयारी अवस्थामा राखेको छ। खड्काले भने, ‘हामी तयारी अवस्थामा मा छौ। माइकिङ पनि गरेका छौ। पत्रिकामा समेत सूचना सार्वजनिक गरेका छौ। बजार क्षेत्रका सडकमा पार्किङ नगर्न भनेका छौ। निर्माण सामाग्री नराख्न भनेका छौ। अटेरी गरेपछि हामी नियन्त्रणमा लिन्छौ।’

धनगढीको ट्राफिक चौराहदेखि क्याम्पस रोडसम्म नयाँ कालोपत्र हुँदैछ। उपमहानगरपालिकाले धनगढीको मुख्य सडकको बिचबाट २१ मिटरमा मात्र सरकारी कार्यालय तथा मन्त्रालयहरूलाई पर्खाल निर्माण गर्न भनेको छ। चौराहदेखि कैलालीपुलसम्मको मुख्य सडकको बिचबाट १२ मिटर क्षेत्रमा सडकका संरचना निर्माण गर्ने र बाँकी रहेको क्षेत्रमा उपमहानगरपालिकाले पार्किङ स्थल निर्माण गर्न योजनासमेत बनाएको छ। तर, बैँक तथा वित्तीय संस्थाहरूले पार्किङ स्थल, निजी कम्पनीहरूका पार्किङ स्थलहरू समेत प्रयोगमा आएका छैनन। सवारी पार्किङका लागि निर्माण गरिएको क्षेत्रसमेत अन्य प्रयोजनमा प्रयोग हुँदै आएको छ।

तपाईको प्रतिक्रिया