धनगढीमा चारवटा पसलमा आगलागी, डेढ करोड बढीको क्षति

धनगढी, पुस १ । कैलालीको धनगढीमा आइतबार राती चारवटा पसलमा आगलागी भएको छ ।

शहीद गेटमा रहेका चारवटा पसलमा आगलागी हुँदा झण्डै डेढ करोड रुपैयाँ बराबरको क्षति भएको कैलाली प्रहरीले जनाएको छ

आगो आइतबार साँझ टसर अन्सारीले सञ्चालन गरेको समीर मोबाइल ग्यालरीबाट सुरु भएको थियो । त्यसपछि अन्य तीनवटा पसलमा फैलिएको हो ।

आगलागीबाट समीर मोबाइल ग्यालरीको मात्रै अन्दाजी ९/१० लाख रुपैयाँ बराबर क्षति भएको बताइएको छ ।

यस्तै सुरेश पाठकले सञ्चालन गरेको श्रीकृष्ण इन्टरप्राइजेजमा एक करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण आएको छ ।

यसैगरी दीपेन्द्रप्रसाद पन्तले सञ्चालन गरेको अर्जुन आर्ट्समा अन्दाजी ८/९ लाख र मजिबुल अन्सारीले सञ्चालन गरेको लबली टेलरमा ४/५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । विद्युतको तार सर्ट भएर लागेको आगो पाइएको छ ।

आगो धनगढी उपमहानगरपालिकाका दुईवटा दमकलको सहायताले राति नै नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया