२६ साउन, धनगढी : धनगढीमा गर्भपतन गराउने औषधी खादा उच्च रक्तश्राव भएर महिलाको मृत्यु भएको छ ।
धनगढीको अस्पताल लाइनको मेरी स्टोप सामुदायिक क्लिनिकबाट गर्भपतन गराउने औषधी किनेर खाएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले थापाले बिहीबार बिहान मेरी स्टोप सामुदायिक क्लिनिकबाट गर्भपतन गराउने औषधी खाएको बताए ।
औषधी खाएपछि उच्च रक्तश्राव भएकी उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको डीएसपी चन्दले जानकारी गराए ।
मृतकका आफन्तले क्लिनीकले जथाभावी औषधी दिएपछि महिलाको मृत्यु भएको आरोप लगाएका छन् । घटनापछि फरार भएका क्लिनिक सञ्चालक गोदावरी नगरपालिका–२ बस्ने २५ वर्षीय विनोदमणि जोशीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।