धनगढीमा आज देखि गौरा महोत्सव तथा डेउडा प्रतियोगिता सुरु

१४ भदौ ,धनगढी : सुदूरपश्चिम प्रज्ञा (प्रतिष्ठानले डेउडा प्रतिष्ठानसंगको सहकार्यमा धनगढीमा सुदूरपश्चिम गौरा महोत्सव तथा प्रादेशिक डेउडा प्रतियोगिता आज देखि सञ्चालन गरेको छ।

गौरा महोत्सव तथा डेउडा प्रतियोगिताको एक भव्य समारोहबिच प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउँदले उद्घाटन गरेका हुन्।

महोत्सव उद्घाटन गर्दै  मन्त्री साउँदले हाम्रो मौलिक संस्कृति हामी आफैले जोगाएर राख्नु आवश्यक भएको बताए। उनले बिदेशी तत्वहरूबाट नेपाली संस्कृतिमाथि प्रहार भैरहेकोमा चिन्ता ब्यक्त गरेका हुन । डेउडा र गौरा सुदूरपश्चिमलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने संस्कृति भएको उनले बताए।

समारोहमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकूलपति तथा संस्कृतिविद् डा.टीएन जोशीले संघीयताको मूल मर्म भनेकै पहिचान भएको र पहिचान त्यस ठाउँको भाषा संस्कृतिसंग जोडिएको हुने बताए । साथै उनले प्रज्ञा प्रतिष्ठानले योजनाबद्धरूपमा प्रदेशको भाषा साहित्य कला र संस्कृतिको विकास र सम्बर्द्धनका लागि काम गर्ने समेत बताए ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा. टीएन जोशीको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा पूर्व राज्यमन्त्री टेकबहादुर रैका,प्रदेश सभा सदस्य तुलसी देवकोटा, डेउडा प्रतिष्ठानका उपाध्यक्ष सुरत रावत डोटेली कान्छा, कवि मनिराज जोशीलगायतले मन्तव्य राखेका थिए।

समारोहमा कला र संस्कृतिका क्षेत्रमा योगदान पुर्याउने वरिष्ठ कवि मनिराज जोशी,चलचित्रकर्मी राजकुमार जोशी,डेउडा गायक दीपेन्द्र दाहाल, निसर्ग अस्पतालका अध्यक्ष तीर्थराज पन्त, धरणीधर भट्टलगायत दुईदशक भन्दा बढि संगित क्षेत्रमा याेगदान पुर्याउनु भएका संगितकार किशोर भण्डारी लाई सम्मानित गरिएको हाे । भदौ १६ सम्म चल्ने प्रादेशिक डेउडा प्रतियोगितामा  सुदूरपश्चिमका ९ ओटै जिल्लाबाट २२ वटा प्रतियाेगि समुहकाे सहभागीता रहेकाे छ ।

जस अन्तरगत सुदूरपश्चिमका राना, थारु, चाैधरि समुदायकाे झाकि नाच समेत प्रस्तुत गरिएको थियाे ।

 

तपाईको प्रतिक्रिया