१९ बैशाख, धनगढी : कैलाली प्रहरीले ४० लाख बराबरको हार्डवेयरका सामानसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिका–४ को हरि ओम हार्डवेयर एण्ड सप्लायर्सको गोदाममा सोमवार प्रहरीले छापा हानेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक(असई) गजेन्द्रबहादुर चन्द नेतृत्वमाको टोलीले गोदाममा छापा हानेर गोदामबाट ट्रकसहित ४० लाखको भन्सार छलीको सामान र सञ्चालक भारतको लखिमपुर पलिया कलाका ४४ वर्षीय आशिष् गुप्तालाई नियन्त्रणमा लिएको हाे ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कवीन्द्र सिंह बोहराका अनुसार धनगढी उपमहानगरपालिका–३ मा बसोबास गर्दै आएका गुप्तालाई अवैध सामानसहित पक्राउ गरिएको हो।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको अपराध अनुसन्धान समूहको टोलीले भारतीय नम्बर यूपी ३१ टी ७७११ नम्बरको ट्रकमा भन्सार छली चोरी पैठारी गरि ल्याएका हार्डवेयरका सामान, ट्रकसहित गुप्तालाई पक्राउ गरिएको छ।
गोदामबाट बरामद गरिएका हार्डवेयर र ट्रकको समेत मूल्याङ्कन गर्दा ४० लाख चार हजार रुपैयाँ भएको छ। बरामद गरिएको ट्रक, सामान र गुप्तालाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा पठाइएको छ।