धनगढीको ‘हरियाली प्रवर्धन कोष’मा १३ लाख ६० हजार जम्मा

२८ असार, धनगढी  :  धनगढी उपमहानगरपालिकाले पहिलो चरणमा मोहनापुल–अत्तरिया ६ लेन सडकको डिभाइडरमा तीन हजार एक सय २५ वटा बिरुवा रोपेको थियो । मोहनापुल–अत्तरियामा ६ लेन सडकमा उपमहानगरपालिकासँगै भाटभटेनीसहितका संघ/ संस्थालेसमेत वृक्षारोपण गरेका थिए । धनगढी उपमहानगरपालिकाले दोस्रो चरणमा ६ लेन सडकका दायाँ र बाँया तिर पनि बिरुवा रोप्न थालेको छ ।

उपमहानगरपालिकाले नागरिकहरुको सहभागितामा अगाडि बढाएको वृक्षारोपणको कार्यक्रममा नगर प्रमुख गोपाल हमालको सचिवालयका अनुसार तीन दिनमा १३ लाख ६० हजार रकम संकलन भएको जानकारी गराए । उनको सचिवालयले हरियाली प्रवर्धन तथा धनगढीलाई पर्यावरण मैत्री बनाउन थालिएको अभियानमा सोमवार ६ लाख ४५ हजार, मंगलवार दुई लाख ४० हजार र बुधवार चार लाख ७५ हजार रुपैयाँ संकलन भएको जनाएको छ । तीन दिनमा मात्र १३ लाख ६० हजार रकम संकलन भएकोमा बिहिवार बिहानदेखि पनि रकम संकलनको क्रम जारी रहेको छ ।

‘हरित धनगढी’ नाम दिएको उक्त वृक्षारोपण कार्यक्रमलाई एक ट्री–गार्डमा नाम राखेको उपमहानगरपालिकाले पाँच हजार रुपैया लिने गरेको छ । सुन्दर र पर्यावरणलाई जोगाउन उपमहानगरपालिकाले नागरिकलाई जोडेको हो । बिरुवा, ट्री–गार्ड र बिरुवाको हेरचाहा उपमहानगरपालिकाले गर्दै आएको छ ।

नागरिक स्तरबाटसमेत ‘हरित धनगढी’ कार्यक्रमलाई सहयोग हुँदै आएकोमा नगर प्रमुख गोपाल हमालले नागरिकको सहभागिता खोजेको बताए । उनले भने, ‘हाम्रो धनगढी, हामी बनाउछौ मुल नारा छ । नारा भनेको त्यही हो । हामी सबै मिलेर धनगढी बनाउने हो । यो अभियानलाई हामीले फिलिङ्ससँग समेत जोडेका छौ । कसैको बुवा, आफ्न्त बितेका भए, नाम लेख्न सक्नुहुन्छ । पुन्य तीथिमा जल चडाउछन ।’

सुन्दर र हरियालीयुक्त धनगढी बनाउने उद्देश्यसहित सुरु गरिएको कार्यक्रममा नागरिक तथा विभिन्न संघ÷संस्थाको सहभागिता जुट्न थालेको छ । दोस्रो चरणमा त्रिनगर भन्सारदेखि गोदावरी नगरपालिकाको सीमासम्म सडकको दुबैतिर वृक्षारोपण थालिएको छ । हरित प्रेमी तथा प्रकृति प्रेमीहरुले देश तथा विदेशबाट रकम पठाउँदै आएका छन् । स्वर्गीय आफ्न्तहरुको नाममा बिरुवा रोप्नेहरुको संख्या समेत बढ्दै गएको छ ।

धनगढीका नगर प्रमुख हमालले हरियाली कार्यक्रममा जनताको सहभागिता राम्रो रहेको बताए । नागरिकको सहभागिता रहेको कार्यक्रम सफल हुने दाबी उनको छ । विदेशमा रहेका नेपालीहरुले पनि रकम पठाउने गरेको उनले बताए । उनले भने, ‘हरियाली, प्रकृती प्रेमीहरुलाई हामीले जोडेका छौ । उहाँहरुले सहयोग गरिरहनु भएको छ । भूमिगत पानीको समस्या हुँदैछ। जेठ–बैशाखमा जमिन मुनिको पानी सुक्न थालेको छ । पर्यावरणको हिसाबले पनि वृक्षारोपण अति आवश्यक छ ।’

धनगढी उपमहानगरपालिकाले ‘हरियाली प्रवर्धन कोष’ स्थापना गर्दै यसका लागि उपमहानगरापलिकाले बैंक खाता नम्बर ४१७०१००३०५०१०००२ समेत सार्वजनिक गरेको छ ।

तपाईको प्रतिक्रिया