६ जेठ, धनगढी : धनगढी उपमहानगरपालिका –५ बस्ने २६ वर्षीया डाक्टर प्रसन्ना शाह मृत्यु प्रकरणको विषयमा प्रहरीले अनुसन्धानका लागी एक युवकलाई नियन्त्रणमा लिएको छ ।
ध्नगढीको माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर शाहको मृत्यु प्रकरणमा धनगढीकै बिकल केसीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार मृतकका परिवारले किटानी जाहेरी दिएपछि केसी शनिबार विहान आफैं प्रहरी कार्यालय आएका थिए ।
चिकित्सक शाहको परिवारले प्रहरी कार्यालयमा पेश गरेको किटानी जाहेरीमा माया मेट्रो अस्पतालमै कार्यरत डाक्टर सन्दीप भट्टराई र धनगढीका विकल केसीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान गर्न माग गरिएको छ ।
प्रहरी प्रवक्ता चन्दले जाहेरी दर्ताको प्रक्रियामा रहेको बताए । प्रहरीले चिकित्सक मृत्यु प्रकरणको विषयमा प्रारम्भिक अनुसन्धानको प्रक्रियालाई अघि बढाएको छ ।
माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर शाह बिहिवार बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन ।