११असोज,धनगढीः धनगढी उप–महानगरपालिकाका दुई जना स्वयंसेवक देवघाटमा पौडी खेल्दा बेपत्ता भएका छन् । उपमहानगरले मुक्तिनाथ यात्रामा वृद्धवृद्धासँगै स्वयंसेवकका रुपमा पठाएका दुई जना युवा देवघाटमा पौडी खेल्दा बेपत्ता भएका हुन् ।
बिहीबार बिहान ७ः३० बजे कालीगण्डकी र त्रिसुलीको दोभानमा पौडी खेल्न जाँदा उनीहरू डुबेर बेपत्ता भएका हुन् । धनगढी उप–महानगरपालिकाले १९० जना वृद्धवृद्धालाई मुक्तिनाथ यात्राका लागि यही आइतवार पठाएको थियो । धनगढीको लक्ष्मीनारायण मन्दिरले यात्राको संयोजन गरेको थियो । लक्ष्मीनारायण मन्दिरबाट स्वयंसेवकका रुपमा मुक्तिनाथ यात्रामा गएका भारतको असम घर भएका १८ वर्षीय भोजराज अधिकारी र धनगढीको मिलन चोक घर भएका १५ वर्षीय पंकज दाहाल नदीमा डुबेर बेपत्ता भएका लक्ष्मीनारायण मन्दिरका सचिव हरि न्यौपानेले बताउनुभयो । नदीमा पौडी खेल्ने क्रममा भुमरीमा परेर दुबै जना बेपत्ता भएका भए पनि अन्य तिर्थालुहरू भने सकुशल रहेको उहाँले बताउनुभयो । पौडी खेल्ने क्रममा एक जना भुमरीमा परेर डुबेपछि बचाउन गएका अर्का पनि बेपत्ता भएको न्यौपानेले बताउनुभयो । अहिले दुबै जनाको प्रहरी टोलीबाट खोजी भइरहेको छ ।