२१ बैशाख, धनगढी : नेकपा.(एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने भनी सरकारले गरेको निर्णय कार्यान्वयन गर्न नहुनेमा जोड दिएका छन् ।
मुलुक आर्थिक संकटले गुज्रिरहेका बेला सरकारले अयोग्य लडाकुलाई पैँसा दिनेगरी गरेको निर्णय कार्यान्वयन गर्न नहुने विषयमा कुरा उठेको बताउदै त्यसको सट्टा रोजगारी दिनुपर्ने बताएका हुन् ।
‘त्यस(लडाकुलाई पैँसा दिने) बारे कुरा उठेकै हो । यस्तो बेला पैँसा दिनुपर्ने कुनै विषय नै छैन,’ समाजवादी प्रेस संगठन कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले भने, ‘पीडितहरुलाई बरु रोजगारी, ऋण दिने कुरा राम्रो हुन्छ ।’ लडाकुलाई पैँसा बाड्ने सम्बन्धमा आफूले प्रधानमन्त्रीसँग कुरा गर्दा नयाँ नभएर पहिलेकै निर्णय कार्यान्वयन गरेको जवाफ आएको उनको भनाई थियो ।
अध्यक्ष नेपालले मुलुकले पछिल्लो समय व्यहोरिरहेको आर्थिक संकटबारे गठबन्धनमा आवद्ध दलहरु गम्भीर भएको टिप्पणी समेत गरे । ‘अर्थतन्त्रको अवस्था कसरी सुधार गर्ने ? भन्ने बारेमा हाम्रा बीचमा गम्भीर रुपमा छलफल भइराखेकै छन्,’ नेपालले भने, ‘नयाँ ढंगले सोच्नुपर्ने भएको छ । कम खर्चे कसरी गर्ने ? अनावश्यक खर्च नियन्त्रण गर्दैै कटौती गर्ने, अनावश्यक परियोजना सबै रोक्नुपर्छ । पैँसा बाड्ने होइन उत्पादनमुखी क्षेत्रमा लगाउनुपर्छ ।’
फरक प्रसंगमा बोल्दै नेपालले पूराना राजनीतिक दल सच्चिनुपर्ने बताएका छन् भने नयाँ दलले पनि फुरुङ् भइहाल्न नहुने जनाए । ‘हामी पूराना दलहरु सच्चिनुपर्छ । नयाँ पनि फुरुङग हुनुहुदैन,’ नेपालले भने, ‘विगतमा भएका कमीकमजोरी सच्याएर अगाडी बढ्नुपर्छ ।’