३असोज,धनगढीः दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित गोकुलेश्वर बजारका व्यापारीहरुले सडकमै फोहर फालेका छन् । शैल्यशिखर नगरपालिकाले लामो समयसम्म बजारको फोहर नउठाएपछि व्यापारीहरुले बाध्य भएर सडकमा फोहर फालेको हो ।
शैल्यशिखर नगरपालिकाले फोहर व्यवस्थापनमा कुनै चासो नदिएपछि बाध्य भएर सडकमा फोहर फाल्नुपरेको गोकुलेश्वर बजार व्यवस्थापन समितिका उपाध्यक्ष लोकेश भण्डारीले बताउनु भयो । ‘फोहर व्यवस्थापनका लागि हामीले नगरपालिकाको पटक–पटक ध्यानाकर्षण गराएका छौं। नगरपालिकाले यो बिषयमा चासो नै दिएको छैन् । त्यसैले बाध्य भएर हामीले सडकमा फोहर फालेका हौं ।’ उपाध्यक्ष भण्डारीले भन्नु भयो ।
बजार क्षेत्रको फोहर ३ महिनासम्म नगरपालिकाले नउठाएपछि व्यापारीहरु आन्दोलित भएका छन् । उहाँहरुले गोकुलेश्वर क्षेत्रमा यातायात समेत अवरुद्ध गरेका छन् । फोहर व्यवस्थापन गर्ने दायित्व नगर सरकारको भएपनि यो दायित्वबाट नगरपालिका पन्छिएपछि आन्दोलनको विकल्प नरहेको स्थानीय व्यापारी करनसिंह भण्डारीले बताउनु भयो ।
बजारको फोहर व्यवस्थापनका बिषयमा नगर प्रमुख विजयसिंह धामीलाई पटक पटक आग्रह गरेको भएपनि कुनै पहल नहुँदा सडकमा फोहर फालेको व्यापारीहरुले बताउनु भएका छन् । संविधान दिवसको दिन र्याली सहभागी नगर प्रमुखले समेत बजारको फोहर देखुन भनेर फोहर फालेको बताइएको छ ।
संविधान दिवसको अवसरमा निकालिएको र्याली सडकमा फालिएको फोहर छिचोल्दै गएको थियो । शैल्यशिखर नगरपालिकाले फोहर व्यवस्थापन ध्यान नदिँदा नगर सरकारको चर्को आलोचना भइरहेको छ ।