दक्षिण कोरिया विमान दुर्घटना हुँदा ८५ यात्रुको मृत्यु

एजेन्सी । कोरियामा विमान दुर्घटना हुँदा ८५ यात्रुको मृत्यु भएको छ ।

चालक दलका ६ जना सदस्य र १७५ यात्रु बोकेको जेजु एअरको बोइङ–७३७ विमान आज बिहान अवतरणका क्रममा दुर्घटना भएको हो। थाइल्यान्डको राजधानी ब्यांककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको हो ।

धावनमार्गमा चिप्लिएको विमान पर्खालमा ठोक्किएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुगेको सीएनएनले उल्लेख गरेको छ । मृत्यु हुनेमा ४६ महिला र ३९ पुरुष रहेका छन् ।

उद्धारमा खटिएको टोलीका अनुसार, दुई जनाको जिवितै उद्धार गरिएको छ। दुवै चालक दलका सदस्य रहेको जनाएको छ। जसमध्ये एक जना महिला र एक जना पुरुष छन् ।

मृतकको संख्या अझै बढ्न सक्ने जनाएको छ। घाइतेको अवस्था गम्भीर रहेको छ। दुर्घटनाको अनुसन्धान थालिएको दक्षिण कोरियाको यातायात मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया