३० चैत्र, डोल्पा : जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका तीनजना बालबालिकामध्ये एक जनाको मृत्यु भएको छ ।
जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । बाँकी दुईजनाको थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
गाउँ नजिक रहेको उक्त वनमा बिहीबार बिहान गुच्ची च्याउ टिप्न गएका बालबालिका अपराह्न गम्भीर घाइते भएका हुन् । उनीहरूलाई उद्धार गरेर साँझम जिल्ला अस्पताल पुर्याइएको थियो । हरसम्भव प्रयास गर्दा पनि एक बालकको भने ज्यान गएको हो ।