डोटी, कार्तिक २२ । डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको छ ।
बायाँ हात भाँच्चिएर घाइते भएकी डोटी दिपायल सिलगढी नगरपालिका–३, दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएको हो ।
बुधबार राति करिब ८ बजे शल्यक्रिया गर्नका लागि सुइमार्फत एनेस्थेसिया दिइएको थियो । तर बालिका त्यसपछि होसमा आइनन् । जिल्ला प्रहरी कार्यालय, डोटीका प्रमुख एसपी विनोद शर्माका अनुसार बेहोस पार्ने क्रममा दिइएको औषधिको असरले मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
बालिकाको मृत्यु भएपछि स्थानीय बासिन्दा र मृतकका आफन्त अस्पताल तोडफोडमा उत्रिएका छन् । अस्पतालमा थप क्षति हुन नदिन तथा घटनाको अनुसन्धानका लागि प्रहरीले उपचारमा सम्लग्न चिकित्सकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले चिकित्सकहरु डा. राजमणि यादव, डा. सुरेन्द्रकुमार चौधरी र डा. अभिषेक यादवलाई नियन्त्रणमा लिएको हो ।
आफन्तले भने चिकित्सकको लापबाहीका कारण बालिकाको मृत्यु भएको आरोप लगाएका छन् भने अस्पतालबाट शब उठाउन मानेका छैनन् ।
मृतक बालिकाका बुवा रोजगारीको सिलसिलामा भारतमा छन् ।