डडेल्धुराको परशुरामका विद्यालय प्रशासनमा तालाबन्दी

२१ जेठ, डडेल्धुरा  :  डडेल्धुराको परशुराम नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयहरुका प्रशासन कक्षमा तालाबन्दी गरिएको छ ।

बजेटमा उपेक्षा गरिएको भन्दै नेपाल विद्यालय कर्मचारी युनियन परशुराम नगरपालिका कार्यसमितिले विद्यालयका प्रशासन कक्षमा तालाबन्दी गरेको हो ।
गत जेठ १५ गते ल्याइएको बजेटले विद्यालय कर्मचारीहरुको माग सम्बोधन नगरेको विरोधस्वरुप तालाबन्दी गरिएको कार्यसमितिले जनाएको छ । उनीहरुले विद्यालयमा ताला लगाएर प्रधानाध्यापकलाई चाबी बुझाउने र उक्त अवधिभर विद्यालयमा उपस्थित नहुने बताएका छन् ।

तालाबन्दी आगामी जेठ २६ गतेसम्म जारी रहने जनाइएको छ । जेठ २७ देखि असार १ गतेसम्म राजधानीको भद्रकालीमा अनशन बस्ने, असार २ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने र असार २६ गते बिहानैदेखि नगरपालिकामा विरोध गर्ने घोषणा गरिएको छ ।

आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको सेवासुविधा हेरफेर गरिने विषय उल्लेख भएपनि बजेटले उपेक्षा गरेको उनीहरुको आरोप छ ।

तपाईको प्रतिक्रिया