टीयु टपर धरणीधर भट्टलाई क्याम्पसले गर्यो सम्मान

धनगढी, मंसिर १२ । कैलाली बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालय टपर धरणीधर भट्टलाई सम्मान गरेको छ।

सोही क्याम्पसबाट स्नातक तहको व्यवस्थापन संकायबाट त्रिभुवन विश्वविद्यालय टप गरेका भट्टलाई क्याम्पसले एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो ।

उनलाई कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज भट्टले सम्मानपत्र प्रदान गरे ।

भट्टले पहिलो सेमेस्टरमा ३.८८ जिपिए ल्याएका थिए भने, दोस्रो सेमेस्टरमा ३.९६, तेस्रो सेमेस्टरमा ३.९८, चौथो सेमेस्टरमा ३.९९, पाँचौ सेमेस्टरमा ३.९४, छैटौँ सेमेस्टरमा ३.९६, सातौँ सेमेस्टरमा ३.८९ तथा आठौँ सेमेस्टरमा ३.९८ जिपिए ल्याउदै ओैसत ३.९५ जिपिए ल्याई त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा प्रथम भएका थिए ।

भट्टले विश्वविद्यालय टप गरेर कैलाली क्याम्पसको गरिमालाई झन् उचाइमा पुर्याएको कैलाली बहुमुखी क्याम्पसका प्रमुख तोयराज भट्टले बताए।

डोटीको शिखर नगरपालिका वडा नम्बर १ कपल्लेकी घर भएका भट्ट विद्यालय तहमा पनि कक्षामा प्रथम हुने विद्यार्थी हुन्। उनले नियमित पढ्ने र पढेको कुरा अभ्यास गर्ने गरेकाले परीक्षामा राम्रो नतिजा आउने गरेको बताएका छन्।

क्याम्पस प्रमुख भट्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद रमेश धामी र कैलाली बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख सुरेन्द्र चन्द , नागरिक समाजका अगुवालगायतको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया