जिसस कैलालीको प्रमुखमा कांग्रेसकी टीकाकुमारी निर्विरोध

धनगढी, मंसिर ५ । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन्।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)की रुपमती डगौरा थारूले जिसस प्रमुखमा दिएको उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित भएकी हुन्।

नाउपाकी थारुले उम्मेदवारी फिर्ता लिएपछि काँग्रेसकी टिकाकुमारी निर्विरोध भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए । उनका अनुसार आज बिहान ९ देखि १ बजेसम्म उम्मेदवारी फिर्ताको समय रहेको थियो ।

बुधबार नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण किशोर चौधरी, टीकापुर नगर प्रमुख रामलाल डङ्गौरा थारु, नेपाली काँग्रेस कैलाली सभापति नारायणदत्त भट्ट लगायतका नेताहरूको उपस्थितिमा रुपमतीले प्रमुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएकी हुन।

समन्वय प्रमुखमा निर्विरोध भएकी भुल कैलारी गाउँपालिका –२ बाट दलित महिला सदस्यमा विजयी भएकी थिइन्। एमालेको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएकी थिइन्।

कांग्रेसबाट जिल्ला समन्वय समिति, कैलालीको प्रमुखमा विजयी भएका पदमबहादुर कलेलको २०७९ पुस २३ गते निधन भएपछि सो पदमा उपनिर्वाचन हुन लागेको हो।

तपाईको प्रतिक्रिया