बैतडी/बैतडीमा एक महिलामाथि बलात्कार भएको घटना ६ महिनापछि बाहिरिएको छ। जिल्लाको सिगास गाउँपालिकाकी २४ वर्षीया महिलामाथि बलात्कार गरिएको हो। बलात्कारपछि महिला गर्भवती भएको ६ महिनापछि मात्र घटना बाहिरिएको हो । उनीमाथि देवर नाता पर्ने करिब २६ बर्षीय युवकले बलात्कार गरेका हुन ।
गत असार १७ गतेको राति बलात्कार भएको र त्यसपछि पीडक फरार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। पीडित महिलाले केही दिन अघिमात्रै इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दर्ता गराएपछि घटना बाहिर आएको हो। पीडित महिलाको पेटमा ६ महिनाको गर्भसमेत रहेको खुलेको छ।
पीडित महिलालाई अहिले पाटनस्थित महिला सुरक्षित आवास गृहको संरक्षणमा राखिएको छ। पीडित महिलाका श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेका र घटना बाहिरएपछि उनी घर फर्किएका छन्। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पाण्डेयले जानकारी दिए।