१४ असार, धनगढी : कैलालीको अत्तरियामा एक १८ वर्षीया किशोरी शनिवार मृत फेला परेकी थिईन ।
गोदारी नगरपालिका वडा नम्बर ४ बसन्तपुरका भक्तबहादुर बोहराकी छोरी अस्मि बोहरा शनिबार करिब ४ बजेको समयमा आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी थिइन । उनी आफ्नै एक तले चार कोठे पक्की घरको आफु सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन ।
अस्मिले आफ्नो प्राण आफै परित्याग गरेकी यस विषयमा अनुसन्धान गर्दै जाँदा उनी जबरजस्ती करणीमा परेर मृत्युको बाटो रोज्न पुगेको खुलेको छ । अस्मिकोे न्यायका लागि आफन्तले अत्तरियामा प्रदर्शन नै गरेका छन् ।
नेपालगंजमा अध्ययनरत अस्मिमाथी नेपालगंजमै जबरजस्ती करणी भएको र कसैलाई भने ज्यान मार्ने धम्की दिएका कारण उनले मानसिक तनाबमा आएर देहत्याग गरेको आफन्तले खुलाएका छन । प्रहरीले अस्मिको आत्महत्या दुरुत्साहन मुद्दामा मुगुको सेरु गाउँपालिका– ३ का २१ बर्षीय दिलेन्द्र शाहीलाई पक्राउ गरिसकेको छ ।
अस्मिका आफन्तले मंगलबार शाही र अस्मिकी साथी लक्ष्मी खड्काका विरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख गणेश बरालले बताए ।