चैतन्य पाठशालाले क्रिकेटर महरालाई सम्मान गर्‍यो

धनगढी, मंसिर ११ । धनगढीस्थित चैतन्य पाठशालाले आफ्नो पूर्व विद्यार्थी समेत रहेकी यु-१९ क्रिकेट टोलीकी सदस्य स्नेहा महरालाई सम्मान गरेको छ।

पाठशालाले मंगलबार विहानी प्रार्थना सभाको अवसर पारेर महरालाई सम्मान गरेको हो ।

सम्मान ग्रहण गर्दै क्रिकेटर महराले स्टोनब्रिजमा कक्षा नर्सरीदेखि लगनशील भएर पढी अहिले यो स्थानमा आएको बताइन् । यसका लागि विद्यालय र शिक्षकलाई धन्यवाद दिँदै यस सम्मानले आफूलाई थप हौसला थपिएको बताइन् ।

प्रार्थना सभामा बोल्दै विद्यालयका प्रधानाध्यापक कटकबहादुर सिंहले विद्यार्थीमा हुनुपर्ने लगन र मिहिनेत स्नेहामा रहेकाले सफलता पाएको पाएको बताए । यो सफलतामा आफूलगायत विद्यालय परिवार निकै खुशी भएको उनले बताए ।

यसै समारोहकाबीच सिंहले विद्यालयको वार्षिकोत्सवको अवसर पारी महरालाई ५० हजार नगद पुरस्कार राशीले सम्मान गर्ने घोषणा समेत गरे ।

गत महिना युनाइटेड अरब इमिरेट्स (युएई)मा भएको आइसिसी १९ वर्ष मुनिको महिला विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको थियो ।

सन् २०२५ को जनवरीमा मलेसियामा हुने १९ वर्ष मुनिको महिला विश्वकपमा नेपालले सहभागिता जनाउनेछ ।

तपाईको प्रतिक्रिया