१४ बैशाख, धनगढी : चैतन्य पाठशालाले शैक्षिक शत्र २०८१ को सुरुवातमा अभिभावक उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । आज शुक्रबार धनगढी ५ शिव नगरमा रहेको पाठशालाले अभिभावकलाई विद्यार्थी प्रति जिम्मेवार भई बालबालिकाको पढाईमा कसरी सहयोग गर्ने भन्ने बिषयमा जानकारी दिन अभिभावक उत्प्रेरण कार्यक्रम गरिएको जनाइएको छ ।
विद्यालयका अभिभावकहरुको उल्लेखनीय उपस्थिति रहेको उत्प्रेरणा कार्यक्रममा विद्यार्थीको पढाईमा अभिभावकको भुमिका,अभिभावकले निर्वाह गर्नुपर्ने दायित्व र विद्यार्थी संग गर्नुपर्ने व्यवहारका बारेमा जानकारी दिइएको बताइएको छ । अभिभावकको सहयोग विना असल विद्यार्थी बनाउन असम्भव रहेकाले अभिभावकलाई विद्यार्थीको पढाई प्रति सक्रिय,सहयोगी र उत्प्रेरित गर्न कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
आचार्य लक्ष्मण भण्डारीले उपस्थित अभिभावकलाई घरपरिवारमा आफ्ना बालबालिका संग गर्ने असल ब्यवहार , संस्कार , चालचलन, बानी,व्यवहारका बारेमा जानकारी दिएका थिए । उनले बालबालिकालाई प्रयाप्त समय दिने,मिठो बोल्ने,असल कर्म र व्यवहार सिकाउने, उनिहरुको भावनात्मक बिचारलाई मनन गरेर असल अभिभावकको भुमिका निर्वाह गर्नुपर्ने बताए ।
चैतन्य पाठशालाका प्राधानाध्यापक कटक बहादुर सिहले २०५८ सालमा स्थापना भएको स्कुललाई २०७९ सालबाट चैतन्य पाठशालाको रुपमा अगाडी बढाइएको बताए । विद्यालयको नाम संगै सेवा,सुविधा,गुणस्तर र नतिजा समेत फेरिएको बताउँदै सिंहले एक बर्ष अवधिमा धेरै राम्रो काम गरिएको बताए । प्रधानाध्यापक सिंहले समाज रुपान्तरणका लागि विद्यार्थीलाई असल संस्कार सिकाउँदै अहोरात्र खटिएर बिद्यार्थी, अभिभावक तथा शिक्षकका लागी काम गर्ने बिश्वास दिलाए ।
पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले असल र संस्कार बालबालिका बनाउनमा विद्यालय र शिक्षक भन्दा अभिभावकको पहिलो र महत्वपुर्ण भुमिका रहेको बताए । जोशीले बालबालिकाको पहिलो पाठशाला परिवार भएकाले आदर्श मानिस, जिम्मेवार नागरिक कसरी बन्ने र बनाउने भन्नेमा अभिभावकको भुमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए । उनले सम्पुर्ण अभिभावकलाई असल अभिभावकको भुमिका निर्वाह गर्न आग्रह गरे। बालबालिकालाई चेतनशील,जिम्मेवार नागरिक,उद्यमशील परिवार ,समाज र देश प्रति माया,प्रेम, सद्भाव, समाज र राष्ट्रको जिम्मेवार चेतनशील नागरिक बनाउने चैतन्य पाठशालाको उद्देश्य रहेको जोशीको भनाई छ ।