८ जेठ, धनगढी : कैलालीको चुरे गाउँपालिकाका पहिरो पीडितहरुले व्यवस्थापनको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गरेका छन् ।
२०७६ मा वर्षाका कारण आएको पहिरोले विस्थापित भएर वडा नम्बर ४ को वन क्षेत्रमा अस्थायी रुपमा बसिरहेका पीडितले वन कार्यालयले डोजर प्रयोग गरेर संरचान भत्काउदै आफूहरुलाई त्यहाँ उठाएको भन्दै व्यवस्थापनको माग गरेका हुन् ।
वास्तविक पहिरो पीडितको पहिचान गर्दै व्यवस्थापन गर्नुपर्ने भन्दै उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गर्दै मूल गेट अगाडि धर्ना दिएका छन् । चुरे गाउँपालिका, स्थानीय प्रशासन र सामुदायिक वनसँगको समन्वयमा पहिरोबाट विस्थापित भएकाहरु पनेरुगडा र टाँकगडाको सामुदायिक वन क्षेत्रमा लालाबालासहित बसोबास गरिरहेका थिए ।
तर डिभिजन वन कार्यालयले स्थानीय प्रशासनसँगको समन्वयमा पहिरो पीडितको व्यवस्थापन नहुँदै उनीहरुले बनाएका अस्थायी संरचनामा डोजर लगाएर भत्काए पछि चुरे गाउँपालिकाका अध्यक्ष चक्र बोगटीले वास्तविक पहिरो पीडितको व्यवस्थापन गरिदिन प्रदेश सरकार र संघीय सरकारसँग पटक पटक आग्रह गर्दा पनि वेवास्ता गरिएको बताए ।
वन कार्यालयले डोजर लगाउन भन्दा अगाडि समेत उनीहरुको व्यवस्थापन गरिदिन आग्रह गर्दा पनि वेवास्ता गरिएको बताउँदै अध्यक्ष बोगटीले वास्तविक पीडितको पहिचान गरेर व्यवस्थापन गर्नुपर्ने बताए । उनकाअनुसार अहिले चार सय १८ पहिरो विस्थापित परिवार सामुदायिक वन क्षेत्रमा बसिरहेका थिए ।