चालु आर्थिक वर्षमा निर्माणाधीन हुलाकी सडक सम्पन्न हुनेमा आशङ्का

१५ असोज,धनगढीः सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक चालु आर्थिक वर्षमा पनि सम्पन्न हुनेमा आशङ्का देखीएको छ ।
कैलाली र कञ्चनपुरको एकसय ३६ किलोमिटर हुलाकी सडकमध्ये ८६ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । यहाँ अझै ५० किलोमिटर सडक कालापत्रे गर्न बाँकी छ ।
कैलालीमा लम्की–टीकापुरखण्डको साढे २९ किलोमिटर सडक स्तरोन्नति आर्थिक वर्ष २०७६÷०७७ मै थालिए पनि हालसम्म आठ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ ।
साढे २९ किलोमिटर उक्त सडकखण्ड तीन वटा प्याकेजमा ठेक्का दिइए पनि पहिलो प्याकेजको काम मात्रै सम्पन्न भएको हो ।
त्यसैगरी कैलालीमा पूर्व–पश्चिम (धनगढी क्याम्पस रोड–सत्ती) ४४ किलोमिटर हुलाकी सडकमा पाँच किलोमिटर मात्रै काम भएको हुलाकी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर दीपक सुनारले जानकारी दिनुभयो ।
उहाँले कामको अवस्था हेर्दा चालु आर्थिक वर्षमा बजेट अपुग नभए सडक निर्माण सकिनेमा आफू आशावादी रहेको बताउनुभयो ।
क्याम्पस रोड–सत्ती सडकखण्ड निर्माणका लागि चारवटा प्याकेजमा निर्माणको जिम्मा दिइएको इन्जिनियर सुनारको भनाइ थियो ।

तपाईको प्रतिक्रिया