गहतराजद्धारा आमाको बार्षिक पुण्य तिथिमा अक्षय कोषको स्थापना

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्वर १४ का कृष्ण गहतराजले स्वर्गीय आमाको वार्षिक पुण्य तिथिमा अक्षय कोषको स्थापना गरेका छन् । धनगढी १४ डि गाउँ स्थित जनजागृति माध्यामिक विद्यालयमा स्वर्गीय राम माया सुनार स्मृति अक्षय कोष स्थापना गरेका हुन् । गहतराजले आमाको स्वर्गवास भएको १ बर्ष पुगेको उपलक्ष्यमा आमाको स्मृतिमा अक्षय कोषको स्थापना गरेका हुन् ।

गहतराजले आफुले अध्ययन गरेको विद्यालयमा १ लाख, १ हजार, एक सय एघार रुपियाँको अक्षय कोष स्थापना गरेका छन् । गहतराजले बिहिबार एक औपचारिक कार्यक्रम गर्दै अक्षय कोष वापतको रकम विद्यालयलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा वडा अध्यक्ष मान बहादुर विष्ट सहित वडा सदस्यहरु ,समाजसेवी,बुद्धिजीवीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै गहतराजले आफु अशिक्षित हुदाँ हुदै पनि आमाले सन्तानलाई पढाउनु पर्छ भन्ने भावनाका साथ आफुलाई उच्च शिक्षा अध्ययन गराएको बताए । उनले विभिन्न सामाजिक पदीय जिम्मेवारीमा रहेर आमाले दलित समुदायको हकहित र अधिकारका लागि ठूलो योगदान गरेको बताए । बिशेष गरेर विपन्न,दलित,कमजोर आर्थिक अवस्था भएका बर्गलाई पनि शिक्षा दिनुपर्छ भन्ने आमाको विचार भएको र उहाँले शिक्षामा गरेको योगदानका कारण आफु र आफु जस्ता कयौं दलित समुदायका बालबालिकाले पढ्न पाएकाले आमाको उद्देश्यलाई निरन्तरता दिन अक्षय कोषको स्थापना गरिएको बताए ।

उनले अक्षय कोषको ब्याज वापत प्राप्त हुने रकमबाट गरिब, विपन्न, दलित परिवारको एक जना र अपाङगता भएको १ जना विद्यार्थीहरुलाई हरेक बर्ष पढाई प्रति प्रोत्साहन गर्न छात्रबृत्ति प्रदान गरिने बताए । अक्षय कोष स्थापना गर्ने गहतराज अपांगता अधिकार कोषको नेपालका लागि प्रतिनिधि हुन् ।

तपाईको प्रतिक्रिया